१७ जेठ (२०८२), काठमाडौं । सिङ्गो पार्टीको आर्थिक कामलाई व्यवस्थित र पारदर्शी बनाउन लेखा राख्ने नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको नेकपा (एमाले)ले प्रदेश कमिटीहरूका लागि लेखा सफ्टवेयरसम्बन्धी पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
एकदिने पुनर्ताजगी कार्यक्रम महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र आयोगका अध्यक्ष डा. पुष्प कँडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार सम्पन्न भएको हो ।
पार्टीको लेखा व्यवस्थित एवं पारदर्शी बनाई एकरूपता ल्याउने उद्देश्यले मातहत कमिटीहरूसम्म पनि प्रयोग गर्ने गरी नयाँ सफ्टवेयर विकास गरिएको र यो सफ्टवेयर हाल प्रदेश कमिटीहरूसम्म कार्यान्वयनमा आइसकेको छ ।
पुनर्ताजगी कार्यक्रममा महासचिव पोखरेलले पार्टीको लेखा प्रणाली व्यवस्थित र पारदर्शी बनाउन कार्यान्वयनमा ल्याइएको नयाँ सफ्टवेयर अब क्रमशः जिल्ला कमिटीहरूमा लागू गर्ने पार्टीको योजना रहेको बताउनुभयो ।
आर्थिक परिचालन र लेखा व्यवस्थापनमा मुलुकको सबैभन्दा अब्बल पार्टीको रूपमा नेकपा (एमाले)ले आफ्नो पहिचान बनाएको बताउँदै महासचिव पोखरेलले यो सफ्टवेयरको प्रयोगबाट पार्टीको समग्र आर्थिक कामलाई केन्द्रीय नेटवर्कसँग जोडिने जानकारी गराउनुभयोे ।
केन्द्रीय लेखा आयोगले जिल्ला कमिटी, महानगर, उपमहानगर सोभन्दा माथिल्ला तहका सबै पार्टी कमिटी र जनसङ्गठनहरूको वार्षिक रूपमा लेखापरीक्षण गर्ने गरेको छ । यसले पार्टीमा आर्थिक सुशासन कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।
आर्थिक परिचालन गर्दा बजेट निर्माण गरी आर्थिक परिचालन गर्ने, समयमा नै बरबुझारथ गर्ने, पेश्की फस्र्यौट, बाँकी बक्यौता असुली, केन्द्रीय लेखा आयोगले निर्धारण गरेको लेखा ढाँचा बमोजिम लेखा राख्ने, समयमा नै लेखा परीक्षण गराउने जस्ता विषयमा पार्टी कमिटीहरूले विशेष ध्यान दिनु जरूरी रहेको कुरामा महासचिव पोखरेलले जोड दिनुभयो ।
कार्यक्रममा कर्णाली बाहेक सातप्रदेश एवं सम्पर्क समन्वय कमिटी तथा कास्की, लमजुङ, मकवानपुर, रुपन्देही र पेशागत विशेष जिल्ला कमिटीका वित्त विभाग प्रमुख, कार्यालय सचिव र लेखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यालय सचिव डा. भिष्म अधिकारीले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्दै आर्थिक अनुशासन पार्टी जीवनको एक महत्वपूर्ण पक्ष भएको धारणा राख्नुभएको थियो । पार्टीको केन्द्रीय लेखा आयोग र पार्टी केन्द्रीय कार्यालयको आयोजनामा गरिएको पुनर्ताजगी कार्यक्रमको सञ्चालन आयोगका सचिव शिव अधिकारीले गर्नुभएको थियो ।
पार्टीको केन्द्रीय कार्यालयका लेखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले नयाँ सफ्टवेयर प्रयोगकर्ताका रूपमा आफ्नो अनुभव सुनाउनुका साथै सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । लेखा आयोगका सदस्य जनक वरालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षण र सहजीकरणका क्रममा उहाँहरूले आर्थिक पारदर्शिता पार्टी जीवनको ऐना हो भन्ने कुरामा जोड दिँदै लेखा सफ्टवयेरमा भएका विशेषता, फाइदा, रिपोर्टिङमा सहज, यथार्थता र यसको आवश्यकता र महत्व, यसका सवल पक्षहरू र सुधार गर्न आवश्यक पक्षहरू, काम गर्दा देखिएका समस्याहरू, यसको दीर्घकालीन प्रभाव लगायत पार्टीको विधान, विनियमावली, लेखा ढांचा र निर्देशिका, खाता सूची, लेजर, सवलेजर, प्राप्तिको रसिद, आम्दानी खर्चको भौचिङ, प्रयोगकर्ता मेनुयल जस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक पक्षमा प्रशिक्षण गर्नुभएको थियो ।