नेपाल बुद्धिजीवी परिषद्को ११औँ महाधिवेशन उद्घाटन
१७ जेठ (२०८२), काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरेर झण्डै दुईतिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताउनुभयो ।
‘भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरूले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो’, अध्यक्ष ओलीले भन्नुभयो–व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित, परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेकाछौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन–२०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।
उहाँले देश सङ्क्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गर्नुभयो ।
‘म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ’, अध्यक्ष ओलीले भन्नुभयो– जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।
एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापनाको कुरा उठाउनु अप्रासङ्गिक हुने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा विभिन्न विधाका बुद्धीजीवीलाई सम्मान प्रदान गरिएको थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली मोडलको समाजवाद हो’
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा हिँडेको पार्टी भएको र यो समाजवाद स्थापनाको स्पष्ट लक्ष्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली मोडलको समाजवाद हो, नेपाली मोडलको समाजवाद निर्माणको लागि बौद्धिक समुदायबाट कस्तो भूमिका खेलिनुपर्छ, नीति निर्माणमा, योजना निर्माणमा, कार्यक्रम निर्माणमा, आचरण निर्माणमा कस्तो काम गर्नुपर्छ भन्ने विषयमा खोज केन्द्रित भएर काम गर्नुपर्ने छ ।
एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास हुने प्रष्ट पार्नुहँुदै बरिष्ठ उपाध्यक्ष पोखरेलले तथापि एकता र आपसी सद्भावको लागि पार्टी नेतृत्वले भरसक सर्वसम्मतीबाटै नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने बताउनुभयो ।
चुनाव हुँदैन, सर्वसम्मत भनेर माथिबाट थोपारिन्छ भन्ने जस्ता कटाक्ष नगर्न आग्रह गर्दैै उहाँले भन्नुभयो– सर्वसम्मतिले नेतृत्व चयन गर्नु सबैभन्दा लोकतान्त्रिक विधि हो ।
यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले जिम्मेवारीमा रहेका सबै निकायले जनभावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
आज सबै क्षेत्रमा नकारात्मक मात्र कुरा हुने गरेको भन्दै उहाँले अहिले सामाजिक सञ्जालबाट सही कुरा सम्प्रेषण गर्ने भन्दा पनि नेतृत्वमाथि अनास्था फैलाउने काम भइरहेको बताउनुभयो ।
समस्या हामीबाटै उत्पन्न भएको हो भने त्यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा संयन्त्र प्रमुख ढकालले जोड दिनुभयो । यसले सत्यताको नजिक पुग्न सहयोग गर्ने धारणा उहाँले राख्नुभयो ।
नेता ढकालले अहिले जनताको आन्दोलनबाट रछ्यानमा फालिएकाहरू पनि सलबलाउन लागेको र जनतालाई सही ढङ्गले बुझाउन नसक्दा उनीहरूले टाउको उठाउन खोजेका बताउनुभयो । हिजो उनीहरूबाट भएको अत्याचार जनतालाई राम्रोसँग बुझाउन नसक्दा आजको अवस्था आएको उहाँको धारणा छ ।