१७ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनीका ४० प्रतिशत र ३० वर्ष मुनीका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गर्नुभएको हो ।
उहाँले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगागीरूपमा आफूलाई उभ्याएको स्पष्ट गर्नुभयो ।
उहाँले मिसन–२०८४ को अभियानमा जुट्न आह्वान गर्दै एमालेलाई एकल बहुमतको पार्टीका रूपमा स्थापित गरी ऐतिहासिक काम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।