१८ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणको निमन्त्रणा पठाउनुभएको छ ।
प्रधानमन्त्रीको निमन्त्रणा पत्र रस्सियाको भ्रमणमा रहनुभएका नेकपा (एमाले) स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले हिजो भेटका क्रममा महासचिव जुगानोभलाई हस्तान्तरण गर्नुभयो ।
महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिनुभएको डा. भट्टराईले जनाउनुभएको छ ।
जुगानोभसँगको भेटमा एमाले नेता डा.भट्टराईका अलावा नेपालका प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रस्सियन फेडरेशनका महामहिम राजदूत जङ्गबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रस्सियाका अध्यक्ष दिनानाथ राजभण्डारीको पनि उपस्थिति रहेको थियो । करिब डेढ घण्टा भएको उक्त भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध बिषयमाथि छलफल भएको थियो ।
स्मरण रहोस् रस्सियन कम्युनिष्ट पार्टी रस्सियाको दुमा (प्रतिनिधिसभा)को एक सशक्त प्रतिपक्षी दल हो र यसका महासचिव जेगानोभ रस्सियाका एक जिम्मेवार र प्रतिष्ठित नेताका रूपमा स्थापित हुनुहुन्छ ।