२० जेठ (२०८२), काठमाडौं । सङ्घीय संसदमा प्रस्तुत आर्थिक बर्ष २०८२/८३ को बजेट विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्र सम्बोधनका दृष्टिले प्रगतिशील रहेको निष्कर्ष निकालिएको छ ।
नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित ‘आ. व. २०८२/८३ को बजेटमा विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बजेटले विज्ञान, प्रविधि र नवप्रवर्तनका धेरै क्षेत्र समेट्न खोजेको र बजेट सही दिशामा रहेको बताउनुभयो । बजेटले एआई, उद्यमशीलता विकास, अन्वेषण र यस क्षेत्रको जनशक्ति विकासमा प्राथमिकता दिएको बताइएको छ । त्यसैगरी काठमाडौं र बुटवलमा आइटी पार्क बनाउने, किसान एपको विकास र सञ्चालन गर्ने, अन्वेषण केन्द्र सञ्चालन लगायत विषय सम्बोधन गरेकाले सूचना प्रविधिमा बजेटको ठम्याइ ठीक रहेको विज्ञहरूको ठहर छ । त्यसैगरी आइटीलाई उद्योगको मान्यता दिइएकाले बजेट स्वागतयोग्य रहेको भन्दै उहाँहरूले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा प्रदेश सरकारबाट पनि बजेट बनाउँदा ध्यान जानुपर्ने उहाँहरूको भनाइ छ ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले यसपाली नीति तथा कार्यक्रम र बजेट बनाउँदा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विशेष जोड दिन खोजिएको बताउनुभयो । उहाँले बजेट निर्माण गर्दा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा जनशक्ति विकास, पूर्वाधार विकास र व्यापार व्यवसाय विकास गरी तीन क्षेत्रमा ध्यान दिइएको जानकारी गराउनुभयो ।
महासचिव पोखरेलले नेपाली नागरिकलाई विदेशमा लगानीको बाटो यसपालीदेखि नीतिगतरूपमै खोलिएको र त्यस खालको लगानीको क्षेत्र पनि सूचना प्रविधि भएको स्पष्ट गर्नुभयो ।
जनशक्ति विकासका सन्दर्भमा यो बर्ष सबै तीनवटै विश्वविद्यालय (मदन भण्डारी, दशरथ चन्द र योगमाया) जुन स्थापना हुँदै छन् ती प्रविधि र विज्ञानसँग सम्बन्धित रहेको जानकारी गराउँदै उहाँले यो विगतको तुलनामा छलाङ नै भएको बताउनुभयो ।
सूचना प्रविधिको प्रयोगको माध्यमबाट मुलुकको ठुलो आकारमा रहेको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्र बनाउने प्रयास पनि बजेटमा गरिएको महासचिव पोखरेलको भनाइ थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)लाई अर्धदक्ष प्राविधिक जनशक्ति उत्पादनको केन्द्र बनाउने कुरामा आजसम्म ध्यान कम गएको हुँदा त्यसलाई सुधार गरी सीपसँग जोडेर शिक्षा दिनुपर्ने आवश्यकता रहेको धारणा उहाँले राख्नुभयो ।
हाम्रा विश्वविद्यालयहरूमा अनुसन्धानका काम जे भइरहेका छन् ती व्यवहारिक जीवनमा प्रयोगमै नआएको विश्लेषण सुनाउँदै महासचिव पोखरेलले भन्नुभयो– अनुसन्धान, अन्वेषणको काममा सरकार, निजी क्षेत्र र विश्वविद्यालयहरूबीच सहकार्य आवश्यक रहेको महसुस गरी बजेटले त्यसमा पनि जोड दिएको छ ।
पूर्वाधार विकासका सन्दर्भमा ग्रामीण दूरसञ्चार विकासका लागि अप्टिकल फाइवर विछ्याउने काम भएको र यो एक दशकको योजना रहेको बताउनुभयो ।
अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. संगीता सिंहले बजेटमा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा भएको व्यवस्था, सकारात्मक पक्ष र कमीहरू केलाएर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने र आईटी विज्ञ आर के दाहालले प्रविधि, स्टार्टअप तथा नवप्रवर्तन केन्द्रित विष्लेषण प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरूका कार्यपत्र र प्रस्तुतिमाथि टिप्पणीसहित सांसद इश्वरी घर्ती, नेकपा (एमाले)का केन्द्रीय सदस्य रमेश पौडेल, प्रा. डा. त्रिरत्न बज्राचार्य, डा. भेषबहादुर थापा र चन्द्रविलास पोखरेलले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन तथा सञ्चालन विभाग सचिव सञ्जिव रोकाहाले गर्नुभएको थियो ।