detail-img

पार्टी निर्माणको काममा सशक्त हुनुपर्ने जनसङ्गठन शिथिल भएः उपाध्यक्ष पौडेल 

जनसङ्गठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ । त्यसैले मुलरूपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरूलाई ल्याउने काम जनसङ्गठनको नै हो । तर अहिले कतिपय जनसङ्गठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरि पार्टीमै फर्काइदिने गरेका छन् । यसले सङ्गठन र पार्टीको बिस्तार हुदैन ।

४ असार (२०८२), काठमाडौं  । नेकपा (एमाले)का उपाध्यक्ष,ं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम रहेको बताउनुभएको छ । 
आज काठमाडौंमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी भएको र यस पार्टीमा देखिएका समस्या समाधानका लागि कसैको सहयोग नचाहिने स्पष्ट पार्नुभयो । 
उपाध्यक्ष पौडेलले भन्नुभयो– कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिदैन तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन्, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।
एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधिको माध्यमबाट समाधान गरिने उहाँले बताउनुभयो ।
उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकाले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिनुभयो । भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले बैधानिक रूपमा सच्याउनुपर्ने, कार्यान्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । 
‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भन्नुभयो– केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ । यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं ।
उहाँले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उहाँले जनसङ्गठनलाई निर्देशन दिनुभएको छ । 
उपाध्यक्ष पौडेलले भन्नुभयो– विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं । विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।
पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
‘एमालेमा कुनै बेला सिठ्ठी फुकेको भरमा हजारौं मानिस सडकमा आउँथे । अहिले किन मानिस शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले भन्नुभयो– आम जनतामा ऊर्जा भर्न र जनताको बीचमा जाने पार्टीका महत्वपूर्ण अङ्ग भनेका जनसङ्गठन नै हुन् । उनीहरूले यो भूमिका निर्वाह गर्नुपर्दछ ।
उहाँले पार्टी निर्माणमा जनसङ्गठनले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । २०४६/०४७ सालका जनसङ्गठन, २०६२/०६३ सालका जनसङ्गठन धेरै सशक्त रहेको स्मरण गर्दै उपाध्यक्ष पौडेलले वर्तमान अवस्थामा जनसङ्गठन पनि सुुस्ताएको बताउनुभयो । 
उहाँले भन्नुभयो– जनसङ्गठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ । त्यसैले मुलरूपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरूलाई ल्याउने काम जनसङ्गठनको नै हो । तर अहिले कतिपय जनसङ्गठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरि पार्टीमै फर्काइदिने गरेका छन् । यसले सङ्गठन र पार्टीको बिस्तार हुदैन ।

जनसङ्गठनका पदाधिकारीलाई प्रशिक्षण जरुरी छः ढकाल
बैठकमा स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले जनसङ्गठनका केन्द्रीय  पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण जरूरी रहेको बताउनुभएको छ । 
कतिपय जनसङ्गठनमा संस्थागत निर्णय नगरी आफुखुशी कामहरू गर्दै जाँदा केही महिनापछि समस्या आएको उहाँले बताउनुभयो । 
‘कुनै सङ्गठनमा अध्यक्ष र महासचिवको मन मिल्ला, कुनैमा अध्यक्ष उपाध्यक्षको मन मिल्ला त्यस्तो बेला अनौपचारिक निर्णय गरेर सङ्गठनका काम नगर्नुहोस्’ संयन्त्र प्रमुख ढकालले निर्देशन दिंदै भन्नुभयो– मन नमिलेका दिन ति सबै निर्णयले विवाद निम्त्याउँछन् । त्यसैले जतिसुकै मन मिले पनि नमिले पनि औपचारिक निर्णय गरेर काम गर्नुहोस् । 
कतिपय जनसङ्गठनका नयाँ वा पुराना पदाधिकारीलाई पनि राजनीतिक र व्यावसायिक प्रशिक्षण नपुगेको महसुस आफूलाई भएको उहाँले बताउनुभयो । नेता ढकालले सङ्गठन कसरी सञ्चालन गर्ने, विधि कसरी बनाउने, बैठक कसरी सञ्चालन गर्ने, पार्टीका आधारभूत ज्ञानहरू कसरी प्राप्त गर्ने भन्ने कुराको जानकारी लिनुपर्ने बताउनुभयो । 
उहाँले जनसङ्गठनले पार्टीको ‘चेन अफ कमाण्ड’ पनि बुझ्नुपर्ने, जनसङ्गठनभन्दा माथि इन्चार्ज हुने, इन्चार्ज भन्दा माथि जनसङ्गठन संयन्त्र हुन्छ भन्ने कुराको आधारभूत ज्ञान राख्न पदाधिकारीलाई सचेत गराउनुभयो । 
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसङ्गठन इन्चार्जको जिम्मेवारीमा रहनुभएका पार्टीका स्थायी कमिटी सदस्यहरू सीता पौडेल, कृष्णगोपाल श्रेष्ठ, थममाया थापा, राजेन्द्र गौतम, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा जनसङ्गठनका इन्चार्जहरूले रिपार्टिङ गर्नुभएको थियो । हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिवहरू सहभागी बैठकबाट निर्वतमान अध्यक्षलाई विदाइ गरिएको थियो भने नयाँ निर्वाचित अध्यक्षलाई स्वागत गरिएको थियो ।