बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन महासचिव पोखरेलको आग्रह
४ असार (२०८२), लण्डन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यसले राजनीति मात्र होइन समाजको सबै क्षेत्र प्रभावित हुने जोखिम बढेको बताउनुभयो ।
‘भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ’, उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालबाट भ्रम छर्ने र लोकप्रिय हुने सोचका साथ नेपाली समाजमा अराजकतावाद बढेको बताउँदै महासचिव पोखरेलले नेपाली समाजलाई अराजकतावादबाट जोगाउनको लागि सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
‘अहिले लोकतन्त्र र गणतन्त्रका विरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई प्रभावित गरेको छ’, उहाँले भन्नुभयो ।
लोकतन्त्र प्राप्तिपछि हरेकको जीवनमा परिवर्तित भए पनि त्यो सच्चाइलाई अभिव्यक्त गर्न सङ्कोच मान्ने काम भइरहेको महासचिव पोखरेलले बताउनुभयो । नेपाली समाजलाई अति विकसित मुलुकको आँखाबाट हेरेर नेपाली समाजमा निराशा बाँड्ने काम गरिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्र निर्माणको लागि पर्याप्त समय नपाएका राजनीतिक दल र त्यसको नेतृत्वलाई देश बन्न नसकेको भारी बोकाउने काम भएको महासचिव पोखरेलले बताउनुभयो । नेपालमा लामो समय राजतन्त्रले शासन गरेको भए पनि देशको विकासको लागि काम नगरेको उहाँले बताउनुभयो ।
माओवादी हिंसा फैलनुका पछाडि पनि राजा र भारतको भूमिका रहेको बताउँदै उहाँले भारतका नेताहरूले त खुल्ला रूपमा नै आफूहरूले माओवादीलाई संरक्षण गरेको अभिव्यक्ति दिने गरेको सुनाउनुभयो ।
माओवादी द्वन्द्वका बेलामा राजावादीहरू कहिल्यै पनि प्रहारको निसाना नबनेको र त्यस द्वन्द्वमा निशाना कांग्रेस र एमाले भएको उहाँले बताउनुुभयो ।
पश्चिमा जगतले पनि नेपाली जनतालाई अधिकार माग्न मात्रै सिकाएको, राष्ट्र र नागरिकप्रतिको कर्तव्यको चेतना समाजमा सम्प्रेषण गर्न नसकिएको महासचिव पोखरेलले बताउनुभयो । ‘त्यसले गर्दा राज्य र जनताबीचको सम्बन्ध जोडिन सकेकै छैन, जो सबैभन्दा बढी अराजक छ त्यसप्रति समाजको आकर्षण बढेको छ, यसको कारण हामीले नागरिकलाई नागरिक कर्तव्यको शिक्षा दिन नसक्नु हो’, उहाँले भन्नुभयो ।
अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने कुरा नागरिकलाई बुझाउन नसक्दा देशमा अराजकता बढेको उहाँले बताउनुभयो ।
अहिले समाजका हरेक प्रतिष्ठित मानिसमाथि धावा बोल्ने काम भइरहेको र हरेक खालका आदर्शलाई भत्काउने प्रयास भइरहेको बताउँदै महासचिव पोखरेलले सबै खालका आदर्शलाई भत्काएर बलियो राष्ट्र निर्माण असम्भव रहेको बताउनुभयो ।
नेपालले लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता नै व्यक्त गरेको स्पष्ट गर्दै उहाँले देश अहिले त्यही दिशामा अघि बढेको बताउनुभयो । देशले क्रमशः आर्थिक प्रगति गर्नु, धनी र गरिबबीचको खाडल कम हुँदै जानु यसका लागि सकारात्मक सन्देश भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन आग्रह गर्दै उहाँले विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न सुझाव दिनुभयो ।
महासचिव पोखरेलले समाजमा असन्तुष्टि बढ्नु स्वाभाविक भए पनि निराशा भने खतरनाक हुने बताउँदै देशलाई निराशातर्फ जानबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।