detail-img

पार्टीमाथि हुने हमलाको सशक्त प्रतिवाद गर्न बरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन 

७ असार ( २०८२), धादिङ । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा एमालेले गरेको विकास देख्न नसक्नेहरू एमालेमाथि हमला गरिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विकास रोक्न र नेपाललाई कमजोर बनाउन एमालेमाथि हमला भइरहेको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले) लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको, मानवअधिकार र सुशासनको पक्षमा लागेर वंशपराम्पराको शासन नभई जनताले चुनेको व्यक्तिको शासनको पक्षमा निरन्तर लागेकाले एमालेमाथि हमला भएको उहाँले बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– नवलपरासीमा फलाम खानी, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन लगायतका विकासका काम गर्दै जाँदा देशको राष्ट्रियता बलियो बन्छ , देश समृद्ध हुन्छ र यस कामबाट एमाले बलियो हुन्छ भनेर डराएका विरोधीहरूले एमालेमाथि हमला गरिहेका छन् ।
एमाले राष्ट्रियताको पक्षमा, सामाजिक सद्भाव र आर्थिक विकासको पक्षमा, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक लाग्ने बताउँदै उहाँले पार्टीेमाथि भएको हमलाको कडा प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 
पार्टीभित्र एकता कायम गर्न जरूरी रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले सानो पार्टी हुँदा सानो चुनौती हुने र अहिले पार्टी ठूलो भएको, देश चलाउने अवस्थामा रहेको बेलामा ठूला चुनौतीहरू आएको भए पनि एमालेले चुनौतीहरूलाई सामना गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा विगतमा पार्टी सङ्गठन निर्माणमा योगदान गर्नुभएका अग्रज नेताकार्यकर्ताहरूलाई सम्मान गरिएको थियो ।
नेकपा (एमाले) धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको प्रतिनिधि परिषदले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।