detail-img

एमालेको आर्थिक सुधार अभियानः अब सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत

७ असार (२०८२), भेडेटार (धनकुटा) । नेकपा (एमाले) कोशी प्रदेश अन्तर्गतका सबै जिल्लामा पार्टीको सम्पूर्ण आर्थिक कारोबार  नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा  दुई दिनसम्म चलेको  प्रशिक्षणको समापनमा २१बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।
घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ । तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखापरीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन् । 
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ । आर्थिक कारोबारलाई बैकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।
तालिममा सहभागी जिल्ला, महानगर र उपमहानगर कमिटी अध्यक्षहरूले भविष्यमा लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, खर्च र क्रियाकलापको लेखा राख्ने, आन्तरिक अनुगमनको अभ्यास गर्ने तथा सम्पत्ति वा लगानी भएमा समितिको अनुमति बिना उपयोग नगर्ने नीतिगत प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
घोषणापत्रमा   लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको छ । प्रशिक्षकहरूले तालिमका क्रममा सिकाएका सिद्धान्तहरू कार्यान्वयन नगरी केवल कागजमा मात्र सीमित राखे पार्टीको सुधार सम्भव नरहने स्पष्ट पारेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले शुभकामना दिनुभएको तालिम कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गर्नुभएको थियो । असार ५ र ६ गते दुई दिनसम्म चलेको तालिममा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, सचिव शिव अधिकारी, केन्द्रीय कार्यालय लेखा प्रमुख राजेन्द्र श्रेष्ठ लगायतले लेखा प्रणाली, आर्थिक कारोवार सञ्चालनका विभिन्न विधि र प्रक्रियाका साथै पार्टीले सञ्चालनमा ल्याएको एकीकृत लेखा प्रणाली सफ्टवेयरका विषयमा जानकारी गराउनुभएको थियो । 
स्मरणीय रहोस् पार्टीको आर्थिक कारोबार पारदर्शी र व्यवस्थित बनाउन पार्टीको केन्द्रीय लेखादेखि हाललाई उपमहानगरपालिकासम्मका स्थानीय तहसम्म एकीकृत लेखा प्रणाली सञ्चालन गर्ने गरी सफ्टवेयर जडान गरी कार्यान्वयनमा ल्याइएको छ ।