detail-img

बेलायत र कतारको भ्रमण सम्पन्न गरी महासचिव पोखरेल स्वदेश फिर्ता 

८ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल बेलायत र कतारको दशदिने भ्रमण सकेर आज स्वदेश फर्किनुभयो । 
महासचिव पोखरेलको भ्रमणले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा उकास्न, प्रवासी नेपाली समुदायसँगको सम्बन्ध मजबुत बनाउन र नेपालको विकास तथा समृद्धिका लागि आवश्यक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।
भ्रमणबाट नेपालका सन्दर्भमा सिर्जित भ्रमलाई चिर्न र सत्यतथ्यलाई स्थापित गर्ने सन्दर्भमा एक हदसम्म सफलता प्राप्त भएको अनुभूति भएको महासचिव पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले भ्रमणलाई सफल र सार्थक बनाउन सहयोग गर्नुहुने प्रवासी नेपाली मञ्चका साथीहरू, दुवै देशका राजदूतहरू र ती मुलुकमा रहेका नेपाली समुदायका अगुवाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । 
भ्रमण दलमा पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्य र केन्द्रीय सदस्य तथा युरोप र अमेरिका प्रवास क्षेत्रका इन्चार्ज घनश्याम पाण्डे लगायत सदस्यका रूपमा रहनुभएको थियो ।
भ्रमणका अवसरमा बेलायत र कतारमा प्रवासी नेपाली समुदायसँगको सम्बन्ध सुदृढ पार्ने, नेपालको राजनीतिक अवस्था, पार्टीको भावी कार्ययोजना तथा नेपालको विकास र समृद्धिका विषयमा जानकारी गराउने, साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा छलफल भएको छ । 
बेलायतमा भएका प्रमुख गतिविधिहरूः
–महासचिव पोखरेलले बेलायतमा आयोजित प्रवासी नेपाली मञ्च युकेको नवौं सम्मेलनको उद्घाटन तथा सम्बोधन गर्नुभएको थियो ।
–बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
–बेलायती सरकारका भेट्रान मन्त्री र बेलायती सांसदहरूसँग नेपाल–बेलायत बीचको ऐतिहासिक सम्बन्ध, सहयोग आदानप्रदान, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको समान पेन्सन सुविधा, विकास सहायता, उच्चस्तरीय राजनीतिक भ्रमण र नेपालमा लगानी वृद्धिका विषयमा महत्वपूर्ण छलफल भएको छ ।
–लन्डन जुलोजिकल सोसाइटीमा जलवायु परिवर्तन, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व, स्थानीय समुदायको जीविकोपार्जन र हिमालका मुद्दाहरूमा छलफल सम्पन्न भयो ।
–बेलायतका तीनवटा महत्वपूर्ण विश्वविद्यालयहरूको अवलोकन भयो ।
–संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतको संसदको अवलोकन र सांसदहरूसँग छलफल गर्ने अवसर जुट्यो ।
–ब्रिटिश गोर्खाको हित र सरोकारका विषयमा विशेष छलफल भयो । 
कतारमा भएका प्रमुख गतिविधिहरूः
–दोहा, कतारमा प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन तथा सम्बोधन ।
–कतारस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियालाई सम्बोधन ।
–कतारका लागि नेपालका पूर्व राजदूत लगायत प्रवासी नेपाली उद्योगी व्यवसायीहरूसँग नेपालमा लगानी वृद्धि र अनुदान आयोजनाहरूको सन्दर्भमा छलफल ।
महासचिव पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, कार्यालय सचिव डा. भीष्म अधिकारी सम्पर्क समन्वय कमिटीका अध्यक्ष  श्याम बस्नेत लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।