१० असार (२०८२), सिन्धुली । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक र साङ्गठानिक जग निर्माणमा पुष्पलाल श्रेष्ठको योगदान ऐतिहासिक रहेको बताउनुभएको छ ।
पुष्पलालकै दूरदृष्टि, धैर्यता र सिद्धान्तप्रतिको निष्ठाका कारण आज नेपालमा कम्युनिष्ट विचार बलियो बनेको उहाँले बताउनुभयो । नेकपा (एमाले) सिन्धुलीले आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उपाध्यक्ष ज्ञवालीले ‘नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास’ विषयमा धारणा राख्ने क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँका अनुसार नेपाली कम्युनिस्टहरूले मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद, लेनिनवाद र माओ विचारलाई अवलम्बन गर्दै आएको भए पनि त्यसलाई नेपाली सन्दर्भमा दस्तावेजीकरण गर्ने काम सबैभन्दा पहिले पुष्पलालले गर्नुभएको थियो ।
उपाध्यक्ष ज्ञवालीले पुष्पलाललाई महासचिव पदबाट बिना कारण हटाइँदा पनि उहाँले कहिल्यै पार्टी विरोधी गतिविधिमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै संयमता, अनुशासन र दलप्रतिको समर्पण आजका पुस्ताका लागि प्रेरणा भएको विचार व्यक्त गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनका शुरुआती दिनहरूमा मोतीदेवी श्रेष्ठको भूमिकालाई पनि स्मरण गर्दै उहाँले भन्नुभयो– मोतीदेवी नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्न योगदान दिने नेतामध्ये एक हुनुहुन्छ, जसको योगदान आज पनि सान्दर्भिक हुन जरुरी छ ।
प्रशिक्षण कार्यक्रममा पार्टी इतिहास, आन्दोलनका आरोह–अवरोह, वैचारिक स्थिरता, सांगठनिक शुद्धता र व्यावहारिक नेतृत्व निर्माणका पक्षमा गहिरो छलफल गरिएको जिल्ला इन्चार्ज मनोजजंग थापाले जानकारी दिनुभयो ।
तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा बााग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्यहरू मनोजजंग थापा, गणेश पहाडी, सुवास देवकोटा, डम्बर कार्की र प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरूले विभिन्न सत्रमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक प्रशिक्षणबाट जिल्ला तथा स्थानीय तहका प्रशिक्षकहरूलाई वैचारिक स्पष्टता, साङ्गठानिक दक्षता र व्यावहारिक नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।