–सरकारको एकबर्षको कार्यकाल समग्रमा सफल र प्रभावकारी भएको निष्कर्ष
–नवीकृत सदस्यताको अभिलेखीकरणको काम यही असार मसान्तभित्र सम्पन्न गरिने
–समसामयिक विभिन्न पाँच राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयका प्रस्तावहरू पारित
–स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा
११ असार (२०८२), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको एक वर्षे कार्यकालको सङ्क्षिप्त समीक्षा गर्दै सरकार समग्रमा सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको ५३औं बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले मुलुकको वर्तमान परिस्थिति, पार्टीको विधान अधिवेशन, सरकारका काम र बजेट सम्बन्धमा सङ्क्षिप्त जानकारी गराउनुभएको बैठकपछि पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीको पोलिटब्युरो बैठक २०८२ साउन २ गते र केन्द्रीय कमिटीको बैठक २०८२ साउन ५ गतेका लागि आह्वान गरेको छ ।
बैठकले निकालेका निष्कर्ष र गरेका निर्णयहरू यस प्रकार छन्ः
– बैठकले सरकारको एक वर्षे कार्यकालको सङ्क्षिप्त समीक्षा गर्दै सरकार सन्तोषजनक ढङ्गले सञ्चालन भएको र यसले मुलुकको राजनीतिक स्थायित्व, अर्थतन्त्रलाई लयमा फर्काउन र जनभरोसा बृद्धि गर्न सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ । साथै सरकार दुई पार्टीबीचको सम्बन्धलाई सुदृढ र बलियो बनाउन र प्रतिगामी हर्कतहरूलाई निस्तेज गर्न सफल भएको बैठकले ठहर गरेको छ । यसका अतिरिक्त सुशासन र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने कुरामा बैठकले जोड दिएको छ ।
– बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराईज हलमा गर्ने निर्णय गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गर्न देहायबमोजिम जिम्मेवारी सुम्पेको छ ।
राजनीतिक प्रतिवेदनः अध्यक्ष केपी शर्मा ओली
विधान संशोधन सम्बन्धी प्रस्तावः उपाध्यक्ष विष्णुप्रसाद पौडेल
संगठनात्मक प्रस्तावः महासचिव शंकर पोखरेल
उपर्युक्त प्रस्तावहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुनेछन् ।
– पार्टीको पोलिटब्युरो बैठक २०८२ साउन २ गते र केन्द्रीय कमिटीको बैठक २०८२ साउन ५ गतेका लागि आह्वान गरिएको छ ।
– २०८२ चैत मसान्तसम्मको पार्टी सदस्यता नवीकरणको कार्य सम्पन्न भइसकेको छ । नवीकृत सदस्यताको अभिलेखीकरणको काम यही असार मसान्तभित्र सम्पन्न गरिने भएकाले केन्द्रीय संगठन विभागमा अविलम्ब पठाउन मातहतका कमिटीहरूलाई बैठकले निर्देश गरेको छ ।
– बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा गरेको छ ।
बैठकले वर्तमान सन्दर्भमा निम्न पाँच महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छः
१. इरान र इजरायलबीच चलेको दुईसाता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ ।
यो बैठक युद्धमा सङ्लग्न इरान र इजरायल दुवैलाई युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, युद्धविरामलाई स्थायी रूपमा युद्धको अन्त्यमा रूपान्तरित गर्न आह्वान गर्दछ । शक्ति राष्ट्रहरूलाई यस्ता द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न ध्यानाकर्षण गर्दछ ।
बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत पाँचहजारभन्दा बढी नेपाली नागरिकको जीवन र पेसागत सुरक्षामा समेत जोखिम पैदा गरेको छ । यो बैठक खाडी क्षेत्र र इजरायलमा कार्यरत नेपालीहरूको जीवन र पेसागत सुरक्षाका लागि आवश्यक समन्वय र प्रभावकारी कूटनीतिक पहलकदमी गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
२. भिजिट भिसाको दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसदभित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानविन गर्न सरकारले ‘उच्चस्तरीय अध्ययन एवं छानविन समिति’ बनाउनु सकारात्मक छ । तर सरकारको यस प्रतिबद्धताका बाबजुद संसदमा केही प्रतिपक्षी दलबाट निरन्तर अवरोध, नाराबाजी र बहिस्कार भइरहनु अनुचित छ । यो बैठक अनावश्यक हठ, विरोध र असंसदीय व्यवहार प्रदर्शन नगर्न र संसदको मर्यादा एवं गरिमालाई कायम राख्न सम्बन्धित दल र सांसदहरूको गम्भीर ध्यानाकर्षण गर्दछ ।
३. दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन् कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको प्रारम्भिक रिपोर्टले देशमा उत्साह र आशाको सञ्चार भएको छ । देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर छ । दैलेखको पेट्रोलियम भण्डार र नवलपुरको धौवादी फलामखानी जस्ता परियोजनाहरूको अध्ययन र निर्माणका लागि निरन्तर नेतृत्व गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको योगदानको विशेष स्मरण गर्दै यो बैठक मिथेन ग्यास र फलामखानी परियोजनालाई तीव्रतासाथ अगाडि बढाउन, दुवैको व्यावसायिक उत्पादनका लागि पर्याप्त लगानी, संरचनात्मक व्यवस्था र बजार व्यवस्थापन गर्न र अन्य आवश्यक तयारीका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।
४. बर्खायाम सुरु भएसँगै पूर्व–पश्चिम राजमार्गको दुम्किबास–दाउन्ने खण्ड र विपी राजमार्गको रोशी–नेपालथोक खण्डलगायत राष्ट्रिय र सहायक राजमार्गका विभिन्न स्थानहरू पहिरो र बाढीले बारम्बार अवरुद्ध भइरहेका छन् । यसले नागरिकहरूको आवागमन लगायत आपूर्ति व्यवस्थामा समेत समस्या पैदा भएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान समेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । साथै सिङ्गो पार्टीपङ्क्तिलाई विपद् व्यवस्थापनका काममा तम्तयार अवस्थामा रहन र विपद्को बेलामा आ–आफ्नो ठाउँबाट परिचालित हुनसमेत बैठक आह्वान गर्दछ ।
५. केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पर्वत जिल्लाका स्थापित कम्युनिष्ट नेता कमरेड गणेश पौडेलको यही असार ८ गते ८२ वर्षको उमेरमा भएको निधनबाट पार्टी दुःखी भएको छ । पर्वत र गण्डकी क्षेत्रकै कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड पौडेलको निधनले त्यहाँको पार्टी काममा क्षति पुगेको छ । केन्द्रीय सचिवालयको यो बैठक कमरेड स्व.पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।
त्यसैगरी पार्टी स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितकी जीवनसंगिनी एवं प्रतिबद्ध पार्टी कार्यकर्ता कमरेड विमला महतको गत जेठ १५ गते भएको असामयिक निधनबाट पार्टी निकै दुःखित भएको छ । केन्द्रीय सचिवालय कमरेड महतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नीवियोगमा पर्नुभएका कमरेड पण्डितलगायत शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।