detail-img

पार्टी नेतृत्वका विषयमा बहस गर्ने समय भएको छैनः महासचिव पोखरेल

१२ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यका लागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको बताउनुभएको छ । 
बिहीबार नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताउनुभयो । 
उहाँले भन्नुभयो– देश बनाउन सक्छ एमालेले भन्ने सन्देशलाई हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ । 
एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको महासचिव पोखरेलले बताउनुभयो । 
विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्दै नेपाली युवाहरू केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेको उहाँको विश्लेषण छ । महासचिव पोखरेलले भन्नुभयो– हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन् ।  
उहाँले यो समस्याको समाधान केवल नारा र भावना होइन, राज्य, राजनीति र समाजसँग नयाँ पुस्तालाई अर्थपूर्ण ढङ्गले जोड्न सकिएको खण्डमा मात्र सम्भव हुने स्पष्ट पार्नुभयो । अहिलेको सरकारको बजेट तथा कार्यक्रममा यस कुरामा ध्यान दिइएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– सरकारको नीति, कार्यक्रम र बजेटले नयाँ पुस्तालाई नेपालमै अवसर दिने, स्वरोजगार र उत्पादनसँग जोड्ने दिशामा अघि बढेको छ । 
बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको र यी कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले नेकपा (एमाले)लाई आधुनिक राष्ट्र निर्माणको नायकका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको स्मरण गराउनुभयो । 
उहाँले भन्नुभयो– ग्यास र फलाम खानी पत्ता लगाउनेदेखि लिएर राष्ट्रिय गौरवका आयोजनाहरूको जग हामीले राखेका हौँ । योजना त केवल खाका हो, हामीले त तिनलाई क्रियान्वयनमा पुर्याउने आँट गरेका छौँ । 
वर्तमान राजनीतिमा एमालेमाथि हुने प्रहार र आलोचना एमालेको शक्ति र स्थायित्वको कारणले भएको बताउँदै महासचिव पोखरेलले एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेहरूले नियोजित रूपमा पार्टी र नेतृत्वमाथि हमला गरेको भनाइ राख्नुभयो । पार्टीभित्रको अनुशासन र कार्यकर्ताहरूको भूमिकाबारे आलोचनात्मक धारणा राख्दै उहाँले भोज भतेर, जन्मदिन र सवारीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने तर पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो नदेखाउने प्रवृत्ति बढेको बताउनुभयो । 
पार्टीभित्र नेतृत्वबारे भइरहेका चर्चाका सम्बन्धमा महासचिव पोखरेलले अहिले नेतृत्वको बहस गर्ने बेला नभएको बताउनुभयो । 
अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको र अहिले पार्टीलाई बलियो बनाउन एकतामार्फत अघि बढ्ने समय भएको उहाँले स्पष्ट पार्नुभयो । 
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतका केन्द्रीय नेताहरूका साथै बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतको उपस्थिति थियो ।