१६असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समय परिस्थिति अनुसार हरेक सङ्गठनको भूमिका परिवर्तन हुने बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रथम सचिवालय बैठकलाई आइतबार धुलिखेलमा सम्बोधन गर्दै उहाँले अनेरास्ववियुको अहिलेको भूमिका पनि बदलिएको बताउनुभयो ।
नयाँ पुस्तामा राजनीतिप्रति विकर्षण बढेको बेला नयाँ पुस्तालाई राजनीतिमा जोड्ने दायित्व अनेरास्ववियुको काँधमा आएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अखिलले अगाडि सार्ने एजेण्डा नयाँ पुस्तालाई मन पर्दा मात्र नयाँ पुस्ता एमालेमा जोडिन्छ ।
विचारको तागत बलियो हुने बताउँदै उहाँले अनेरास्ववियुलाई वैचारिक सङ्गठनको रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मार्क्सवादका विरोधीहरूले पनि मार्क्सवादका मान्यतालाई आफ्नो हितका निम्ति प्रयोग गरेकाले मार्क्सवादी दर्शन शक्तिशाली दर्शन भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
नेपाली समाजलाई सबैभन्दा बलियो प्रभाव पार्ने व्यक्ति मार्क्स र मदन भण्डारी भएको र एमालेले अवलम्बन गरेको माक्र्सवादी दर्शन र जनताको बहुदलीय जनवाद निक्कै गहन दर्शन भएकाले यिनै विचारले देशलाई समाजवादसम्म पुर्याउने उहाँको धारणा छ ।
प्रतिष्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्ने कुरा नै जनताको बहुदलीय जनवादको मूलमर्म भएको बताउँदै महासचिव पोखरेलले त्यही श्रेष्ठता हासिल गरी देशलाई समाजवादसम्म पुर्याउन सकिने बताउनुभयो ।
समाज परिवर्तनका लागि विचार र सङ्गठन चाहिने बताउँदै उहाँले भन्नुभयो– समाज बदल्नका लागि परिवर्तनको विचार चाहिन्छ, परिवर्तनका लागि सङ्गठन चाहिन्छ, परिवर्तनको विचार हुन्छ, परिवर्तनका लागि सङ्गठन चाहिन्छ, यो चिजले नै समाजलाई परिवर्तन गर्दछ, समाजलाई परिवर्तन गर्नु छ भने विचारको भरोसा गर्नुपर्छ, यो भएन भने अवसरवाद जन्मिन्छ, एकले अर्कालाई नटेर्ने, आफ्ना्बारेमा मात्रै सोच्ने, यो परिवर्तन विरोधी विचार हो ।
विचारले नै सामूहिकतामा विश्वास गर्ने बनाउने र विचार भएन भने मानिस अराजक बन्ने बताउँदै महासचिव पोखरेलले यो परिवर्तनको विरोधी भएको स्पष्ट पार्नुभयो ।
सङ्गठनको नेतृत्वमा रहेका मानिसहरूले हरेक प्रश्नको उत्तर खोज्नुपर्ने बताउँदै त्यो जवाफ सामूहिक रूपमा खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसले सङ्गठनलाई अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।
२०६३ को परिवर्तनपछि नागरिकले धेरै अपेक्षा गरेका भए पनि त्यो पुरा हुन नसक्दा असन्तुष्टि बढेको महासचिव पोखरेलले बताउनुभयो । क्रान्तिले उत्पादन सम्बन्धमा बदलाव र राज्य सत्ताको वर्गमा परिवर्तन ल्याउने धारणा राख्दै उहाँले नेपालको क्रान्तिले राज्य सत्तामा परिवर्तन ल्याएको भए पनि उत्पादन सम्बन्धमा आशातीत बदलाव ल्याउन नसकेको बताउनुभयो ।
राज्य सत्तामा श्रमजीवी वर्गको नेतृत्व स्थापित गराउन एमालेको नीति राष्ट्रको नीति बन्नुपर्ने बताउँदै महासचिव पोखरेलले राज्य सत्तामा एमालेको एकल नेतृत्व नहुँदासम्म देशमा श्रमजीवी वर्गको नेतृत्व स्थापित हुन नसक्ने स्पष्ट पार्नुभयो ।
युवा पुस्ताले देशभित्रै केही गर्छु भन्ने सपना नदेख्दासम्म देश नबन्ने उहाँले बताउनुभयो । मुलुकभित्रै रोजगारी र उद्यमका सम्भावना हुँदा हुँदै विदेश जाने र देशलाई गाली गरेर देश नबन्ने बताउँदै महासचिव पोखरेलले देश कसैले आएर नबनाइदिने हुँदा देश त्यही देशका युवाले बनाउनुपर्नेमा जोड दिनुभयो ।