९ साउन (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूलाई जनतामाझ लैजान पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको छ ।
एमाले नेतृत्वको गठबन्धन सरकारले मुलुकको असहज परिस्थितिका बाबजुद पनि विकास निर्माणका सवालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको तर मुलुकमा केही भएन भनेर निराशा र तथ्यहीन तर्क गरेर गलत भाष्य सिर्जना गर्न खोजिएको भन्दै उहाँले भएका विकास निर्माणका कामलाई जनतामाझ लैजान आग्रह गर्नुभएको हो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरू आन्दोलनमा रहेको स्मरण गर्दै उहाँले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको पनि उहाँले स्मरण गर्नुभयो ।
‘यो मात्र होइन, नेपालमा सुरुङ मार्ग असम्भव छ भन्नेहरूलाई सरकारले सम्भव बनाएर देखाएको छ, काँग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ’, सचिव अर्यालले भन्नुभयो– सबै आर्थिक सूचकहरू बढेका छन्, यी महत्वपूर्ण उपलव्धि हुन् ।
सामाजिक अराजकता मुलुकमा व्याप्त निराशाको प्रमुख कारण रहेको जिकिर गर्दै उहाँले निराशालाई चिर्न कार्यकर्ताले आम जनतामा उत्साह भर्न सक्नुपर्ने बताउनुभयो ।
पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको र अब यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा नअलमलिन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सचिव अर्यालले भन्नुभयो– उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोंचीविचारी हटाइएको हो, यो व्यवस्था यसअघि नै निष्क्रिय भैसकेको थियो ।
मुलुकको अभिभावक भैसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको उहाँको भनाइ छ ।
पार्टीभित्र अनुशासन र सुशासन महत्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । सचिव अर्यालले सामयिक राजनीति र भोलिको एमाले विषयमा प्रशिक्षण पनि दिनुभएको थियो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई एउटै विधि र तरिकाले सञ्चालन गर्न सकियोस् भनेर प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
प्रदेश कमिटीका उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले एमालेले लिएका नीति, कार्यक्रम र योजना कार्यान्वयनका लागि सबै कमिटी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तीनदिने प्रशिक्षणको पहिलो दिन प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन र माइन्युट लेखन र दलबहादुर गुरुङले तालिम व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै दोस्रो दिन पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डीआर घिमिरे, जन संगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनालले सहजीकरण गर्नुभएको एमाले स्कुल विभाग सदस्य विक्रम खनालले जानकारी दिनुभयो ।
त्यस्तै योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, माक्र्सवाद र जनताको वहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।