१४ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को १२औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजना गरिएको राजनीतिक परिसंवाद कार्यक्रममा महासचिव पोखरेलले श्रमजीवी वर्गको राजनीतिक पहुँच स्थापनाका लागि ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नमिल्ने बताउनुभयो ।
‘ट्रेड युनियन आन्दोलन राजनीतिक प्रश्नबाट अलग भयो भने श्रमजीवीको अधिकार स्थापित गर्न गाह्रो पर्छ भन्ने बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।
नेपालमा पर्याप्त रोजगारीको अवसर हुँदाहुँदै पनि धेरै युवा विदेश गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतको लाहुरे संस्कृतिको निरन्तरतास्वरुप आजका युवामा पनि विदेशप्रतिको आकर्षण रहेको महासचिव पोखरेलले स्प्ष्ट पार्नुभयो ।
नेपालको कृषि क्षेत्र व्यावसायिक नहुँदा पनि विदेश पलायन बढेको धारणा राख्दै उहाँले भन्नुभयो– पढेलेखेको युवा पुस्ता कृषि कर्मबाट अलग भयो, यसले पढे लेखेका युवामा रोजगारीको समस्या देखापर्यो, यो समस्याले गर्दा विदेश जाने प्रवृत्ति बढेको छ ।
नेपालको श्रम क्षेत्रलाई कृषि कर्मसँग जोड्ने विषय ट्रेड युनियनको मुद्दा बन्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । कृषि क्षेत्रमा श्रम शक्तिलाई जोड्न नसक्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनको आधार पनि कमजोर हुने उहाँको धारणा छ ।
नेपालको राजनीतिमा नेकपा (एमाले) अब्बल र जनताको सबैभन्दा रोजाइको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) जब सबै खालका प्रहार तोडेर अघि बढ्छ तब पार्टीभित्रै अनेक खालका समस्याहरू आउने गरेको र एमाले बलियो हुँदै गएपछि यसलाई कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने गरेको महासचिव पोखरेलको धारणा छ ।
नेपालको राजनीति अब ध्रूवीकरणको दिशामा जानुपर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल बलियो बन्नुपर्ने र त्यसका लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । ‘नीतिका आधारमा राजनीतिको ध्रूवीकरण हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले)को मुख्य लक्ष वैज्ञानिक समाजवाद भएको र त्यो नेपाली विशेषताको समाजवाद भएको महासचिव पोखरेलले धारणा राख्नु भयो ।
पार्टीको विधान संशोधन प्रस्तावका विषयमा स्पष्ट पार्दै उहाँले पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन दुई कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको जनाउनुभयो ।
एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको बताउँदै महासचिव पोखरेलले ७० वर्षको उमेर हद हटाउँदा जबजको मूल मर्ममा कहाँनेर असर पर्यो भन्दै प्रश्न गर्नुभयो । पार्टीको ११औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा गर्न सबै नेतालाई खुल्ला रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा पठाउनु अघि पार्टीभित्र पर्याप्त छलफल र बहस भएको स्मरण गर्र्दै त्यसबेला उहाँ राजनीतिक क्रियाशीलता छाडेर राष्ट्रपति बन्न मन्जुर भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
कम उमेरको मान्छेलाई राष्ट्रपति बनाउनु हुँदैन कि भन्ने कुरा उठाउने मान्छे आफू भएको सुनाउँदै महासचिव पोखरेलले भन्नुभयो– मैले विद्यादेवी भण्डारीको निवासमा गएर तपाईं नजानु बेस हुन्छ भनेको थिएँ, तर पार्टीले निर्णय गर्यो, उहाँ हुनुभयो ।
दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने उहाँले बताउनुभयो । माओवादीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएको सन्दर्भमा उहाँले माओवादी यो व्यवस्थाप्रति विश्वास गर्ने पार्टी नै नभएको भन्दै एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न आग्रह गर्नुभयो ।