detail-img

नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नुपर्छः महासचिव पोखरेल

१५ साउन(२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग भएको बताउनुभएको छ । 
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत रक्तदान अभियानको शुभारम्भ तथा खीर खाने कार्यक्रमलाई आज भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो नयाँ पुस्ता कृषिमा नजोडिँदा देश समस्यामा परेको बताउनुभयो । 
उहाँले भन्नुभयो– जमिन बाँझै रहने, युवा रोजगारीको खोजीका लागि विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ । नेपालको जनसङ्ख्याको ठुलो हिस्सालाई रोजगारीमा समेट्ने क्षेत्र नै कृषि क्षेत्र भएको उहाँले बताउनुभयो । 
व्यावसायिक कृषि अघि नबढ्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताउँदै महासचिव पोखरेलले अब नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा जोड दिनुभयो । ‘कृषि क्षेत्रको विकासले नै देश विकासको आधारशिला निर्माण गर्दछ’, उहाँले भन्नुभयो । 
कृषिलाई रूपान्तरण गर्न सकिएन भने देशको विकास हुन नसक्ने भन्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई कृषिमा जोड्नुपर्ने बताउनुभयो । 
विगतमा राजनीतिक परिवर्तनका लागि जसरी काम भएको थियो त्यसरी नै अब आर्थिक परिवर्तनको लागि सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।