detail-img

राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावनातर्फः महासचिव पोखरेल

-निजामती कर्मचारी ऐन चाँडै आउने
-कर्मचारी संयन्त्र अहिले पनि कामकाजी बन्न सकेको छैन
-राज्यलाई बलियो बनाउन हरेक तप्काले कर्तव्यबोध गर्नुपर्ने


१५ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निजामती कर्मचारी ऐन चाँडै आउने बताउनुभएको छ ।  काठमाडौंमा आज आयोजित ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२’ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ऐन आउँछ कि आउँदैन भन्ने अन्यौल अब हटेको बताउनुभयो । 
निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेकाले अब विधेयक आउँछ कि आउँदैन भन्ने अन्यौलता अन्त्य भएको बताउनुभयो । ‘प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैन, त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ’, उहाँले भन्नुभयो । 
निजामती कर्मचारीहरूको निरन्तरको खबरदारीले सफलता हासिल गरेको भन्दै उहाँले यसमा पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउनुभयो । 
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावनातर्फ अघि बढेको बताउनुभयो । एमाले नेतृत्वमा अहिलेको सरकार बन्नु अगाडि समयमा तलब समेत नपाउने अवस्था बनेको बताउँदै आज देश त्यहाँबाट मुक्त भएर अघि बढेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– कर्मचारीलाई तलब समेत दिन नसक्नेहरू आज ठुला कुरा गर्दछन्, निजामती कर्मचारीलाई तलब दिन नसक्ने, निर्माण व्यवसायीलाई काम लगाएको पैसा दिन नसक्ने अवस्थामा पुगेको राज्य आज तपाईंहरूको अवस्था सुरक्षित छ भन्ने अवस्थामा पुगेको छ । 
सरकारको तर्फबाट कानुन र संरचनागत सुधारका लागि अग्रसरता र नेतृत्व गर्ने काम पनि भएको उहाँले बताउनुभयो । सबै काम एक हप्ताभित्र हुनुपर्छ भन्ने कानुन बन्दा पनि नेपालको कर्मचारी संयन्त्र अहिले पनि कामकाजी बन्न नसकेको महासचिव पोखरेलले बताउनुभयो । 
ढिला सुस्ती नेपालको प्रमुख समस्या भएको उहाँले बताउनुभयो । यसबाट राज्यलाई अर्बौं रुपैयाँ घाटा हुने गरेको उहाँले सुनाउनुभयो । यो देशको लागि महारोग भएको बताउँदै उहाँले यो रोगको अन्त्य कर्मचारी प्रशासनले मात्र गर्न सक्ने बताउनुभयो । देशमा समृद्धिको यात्रालाई सफल पार्ने सबैभन्दा ठुलो संयन्त्र निजामती प्रशासन भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
सबै क्षेत्रले आफ्नो कर्तव्य पुरा गर्दा मात्र देश सफल हुने बताउँदै उहाँले राज्यलाई बलियो बनाउन हरेक तप्काले कर्तव्यबोध गर्नुपर्नेमा जोड दिनुभयो । 
सामाजिक अराजकता र अस्थिरता कायम रहँदासम्म समृद्धिको सपना पुरा हुन नसक्ने महासचिव पोखरेलले बताउनुभयो । यसका लागि नेकपा (एमाले)लाई बलियो निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।