नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न
१७ साउन (२०८२), काठमाडौं । रिटर्नी फेडरेसन नेपालद्वारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ ।
सो कार्यशालामा २५ अर्बको लक्ष्यसहित रिटर्नीहरूको पहलमा स्थापना भएको पब्लिक कम्पनीको व्यावसायिक तथा वित्तीय योजना तय गर्न विभिन्न चरणमा छलफल गरिएको हो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जोखिम मोल्ने क्षमता बनाएर मात्र व्यवसायमा लाग्दा सफल भइने बताउनुभयो । म बनाउँछु मेरो देश भन्ने भावना नागरिकमा जागृत हुनुपर्ने भन्दै अधिकार खोज्ने तर कर्तब्य निर्वाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको भन्दै उहाँले देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली भएको बताउनुभयो ।
विदेशबाट नेपाल घुम्न आउने पर्यटक भन्दा नेपालबाट विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्छन् भन्दै महासचिव पोखरेलले भन्नुभयो– हाम्रो देश मात्रै गरिब भएको हो, नागरिक गरिब छैनन् ।
हामीले सही कुरा बुझ्न र बुझाउन सकेका छैनौं, प्रकतिलाई उपेक्षा गरेका छौं भन्दै उहाँले देशमा श्रमिकको अभावमा विदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स नेपालबाट भारत गइरहेको जानकारी गराउनुभयो ।
कार्यशालामा उद्योगमन्त्री दामोदर भण्डारीले विदेशबाट प्राप्त ज्ञान, पुँजी, सीप, अनुभव र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्न सके देशको अर्थतन्त्रले गतिलिने बताउनुभयो । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका ईन्चार्ज डा. कृष्ण बहादुर केसीले चीनले विभिन्न वस्तुमा भन्सार छुट लगायतका सुविधा दिँदा पनि त्यसबाट नेपालीले फाइदा लिन नसकेको बताउनुभयो ।
नवयुग इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलले स्वागत गर्नु भएको उद्यमशालामा रिटर्नी फेडरेशनका अध्यक्ष विनोद प्रसाद भट्टराईले रिटर्नी फेडेरेशनको अवधारणा, स्थापना, उद्देश्य र अवस्थाबारे जानकारी गराउँदै छरिएको पुँजीलाई एकीकृत गरी सामुहिक लगानीको अवधारणा बमोजिम नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउनु भयो ।
रिटर्नी फेडरेशन नेपालको प्रबद्र्धनमा गतबर्ष पुसमा नवयुग इन्भेष्मेन्ट कम्पनी लिमिटेडको घोषणा गरिएको थियो । यो कम्पनीले आगामी पाँच बर्षमा २५ अर्ब रुपियाँ पुँजी सङ्कलन गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले जानकारी गराउनुभयो ।