detail-img

कपिलवस्तुको शिवराजमा राप्रपाका सयभन्दा बढी कार्यकर्ता र समर्थक एमालेमा प्रवेश

१८ साउन (२०८२), बुटवल । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी एकसयभन्दा बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 
नेकपा (एमाले) शिवराज नगरपालिका वडा नम्बर ४ कमिटीले शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर १, ३ र ४ का राप्रपाबाट एक सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं वडा नम्बर ४ का इन्चार्ज मोहन केसीले बताउनुभयो ।
जिल्ला कमिटी सदस्य केसीका अनुसार, राप्रपाका कार्यकर्ता बाबुराम थापा र दीपक बिकको नेतृत्वमा वडा नम्बर ४ का ६२ जना, देवीसिंह खड्काको नेतृत्वमा वडा नम्बर १ बाट ३६ जना र वडा नम्बर ३ बाट मीना सुनारको नेतृत्वमा २१ जना गरी जम्मा ११९ जनाले राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । 
नवप्रवेशीहरूलाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारिलाल न्यौपानेले स्वागत गर्नुभयो ।  
पार्टीको जागरण अभियान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले एमालेले विरोध गर्ने विपक्षीलाई गफले होइन, विकास गरेर जवाफ दिने गरेका कारण जनलहर बढ्दै गएको र पार्टी प्रवेश कार्यक्रम संगठन विस्तारको दृष्टिले निकै महत्वपूर्ण रहेको बताउनुभयो । 
आमनागरिकको विश्वास र समर्थन प्राप्त गर्दै एमाले देशको समृद्धि र स्थायित्वको यात्रामा अग्रसर हुँदै गएको उहाँको ठम्याइ छ । एमालेलाई अझ सशक्त र जनमुखी बनाउने अठोटका साथ पार्टीले अभियान सञ्चालन गरेको पनि नेता न्यौपानेले बताउनुभयो ।  
नवप्रवेशीहरूले राप्रपामा हुँदा आफूहरूको आवाज सुन्ने कोही नभएको,  संगठन गतिशील नभएको र एमालेमा सशक्त संगठन, स्पष्ट विचार र जनमुखी एजेण्डा देखेर प्रवेश गरेको बताएका थिए । एमालेले देखाएको विकासको दृष्टिकोण, कार्यशैली र जनतासँगको सम्बन्धले एमाले रोजेको उनीहरूको भनाइ छ । 
पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंकबहादुर हमाल, कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्ष डम्बर शर्मा, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, सचिव चन्द्रबहादुर गहतराज, जिल्ला कमिटी सदस्यहरू, नेकपा (एमाले) शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेललगायतले सम्बोधन गर्नुभएको थियो ।