detail-img

आक्रमणको सामूहिक प्रतिवाद आवश्यकः महासचिव पोखरेल 

१८ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणको सामूहिक प्रतिवाद आवश्यक रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहारको निशाना बनेको बताउनुभयो । 
‘आज हाम्रो पार्टी र आन्दोलनमाथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको निशाना पार्टी अध्यक्ष बन्नु भएको छ, अहिले भइरहेको प्रहार पार्टीविरुद्धको प्रहार होइन र ?’, उहाँले भन्नुभयो । 
२०८४ सालमा हुने सबै तहका निर्वाचनमा एकल बहुमत हासिल गर्ने लक्ष्यका साथ पार्टीले अगाडि सारेको मिसन– २०८४ का लागि केपी ओलीको नेतृत्व अनिवार्य छ भनेर केन्द्रीय कमिटीले निष्कर्ष निकालिसकेको महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले भन्नुभयो– मिसन–२०८४ को लागि केपी ओलीको आवश्यकता छ भन्ने कुरामा पार्टी केन्द्रीय कमिटी पुगेको छ, तर आउने महाधिवेशनमा नेतृत्वका लागि इच्छा राख्ने कसैलाई पनि प्रतिस्पर्धा गर्नबाट रोकिँदैन ।
मिसन–२०८४ लाई केन्द्रमा राखेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले पार्टीको ११औं महाधिवेशनले यसलाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । 
कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमित अनुमोदन हुने प्रणालीमा जानुपर्ने धारणा उहाँले राख्नुभयो । प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको संगठनात्मक प्रणाली र जीवन बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले सामन्तवादलाई राजनीतिक रूपमा पराजित गरिए पनि दलाल पुँजीवाद यथावत रहेको बताउनुभयो । ‘हाम्रो समाजमा दलाल पुँजीवाद अझै चुनौतीका रूपमा रहेको छ, विविध कारणले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिएको छैन, जसले गर्दा नेपाली राजनीतिमा बाह्य प्रभाव रहेको छ’, उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले तथ्यभन्दा बाहिर गएर कुनै पनि विषयको बहस गर्न नहुने बताउनुभयो । 
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बद्ध विषयको बहस पनि तथ्यभन्दा बाहिर गएर गरिएको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारीललाई एमालेले पार्टीभन्दा धेरै माथिको स्थान दिएर गणतन्त्रको गौरवबाट सम्मान गरेको महासचिव पोखरेलले सुनाउनुभयो । ‘उहाँ हाम्रो पार्टीको गौरव हो, आस्थाको केन्द्र हो, उहाँलाई सिङ्गो राष्ट्रको अभिभावको रूपमा उभ्याउने पार्टीको मिसन हो’, महासचिव पोखरेलले भन्नुभयो । 
पूर्व राष्ट्रपति भण्डारीका विषयमा पार्टीले ठिक निर्णय गरेछ भन्ने अनुभूति स्वयं भण्डारी र राष्ट्रले पनि गर्ने गरी एमाले अघि बढ्ने प्रष्ट पार्नुहुँदै यसमा अन्यथा सोच्न आवश्यक नरहेको उहाँले बताउनुभयो । 
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई एकढिक्का बनाएर मिसन–२०८४ मा केन्द्रित हुनुपर्ने बताउनुभयो । उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीले पार्टी नेतृत्व र सरकारमाथि हुने हमलाको सबैले प्रतिवाद गर्नुपर्ने बताउनुभयो । बैठकमा उपत्यका विशेष प्रदेश अन्तर्गतका चार जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारीमा रहनुभएका पार्टीका केन्द्रीय सदस्यहरू वीना श्रेष्ठ, बालिका गिरी, सीता लामा र रमेश पौडेलको पनि उपस्थिति रहेको थियो ।