detail-img

कर्णालीका विभिन्न जिल्लाका माओवादी, एकीकृत समाजवादी लगायत पार्टीका ३८ जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश 

मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामर्थ्य भएको पार्टी नेकपा (एमाले) होः महासचिव पोखरेल

२१ साउन (२०८२), काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न सङ्गठनमा आवद्ध ३८ जना आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 
नेकपा (माओवादी केन्द्र) को अपाङ्ग परिषद्का केन्द्रीय सचिव धनप्रसाद न्यौपानेको नेतृत्व र पहलमा खासगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । 
नेकपा (एमाले)को केन्द्रीय कार्यालय, च्यासल आई पार्टी प्रवेश गर्नुभएका उहाँहरूलाई महासचिव शंकर पोखरेल, कर्णालीका नेताहरू केन्द्रीय सदस्यहरू निरज आचार्य र रतननाथ योगीले अविर र खादा लगाई स्वागत गर्नुभयो ।  
पार्टी प्रवेश गर्नेहरू जुम्ला, जाजरकोट, रुकुम, मुगु र कैलालीका स्थायी बासिन्दा रहेको र उहाँहरू अधिकांश अपाङ्गता भएका, उहाँहरूका परिवार र शहीद परिवारका सदस्यहरू हुनुहुन्छ । 
पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै महासचिव शंकर पोखरेलले मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामर्थ्य भएको पार्टी नेकपा (एमाले) भएकाले पार्टी प्रवेश गर्दा सही पार्टीको छनोट गर्नुभएको छ भन्नुुभयो । 
अहिलेसम्म मुलुकमा जे जति परिवर्तन भएको छ, त्यो नेकपा (एमाले)को नीतिका कारण भएको स्पष्ट गर्दै गाउँमा विकासको दृष्टिकोणले जे परिवर्तन भएको छ, त्यो मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले)को सरकारका पालामा गाउँ विकास समितिका लागि बजेट विनियोजन गर्न थालिएबाट भएको उहाँले बताउनुभयो । 
तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अधिकारीले प्रत्येक गाउँविकास समितिलाई केन्द्रको बजेटबाट तीनलाख रुपियाँ विनियोजन हुन थालेको स्मरण गर्दै महासचिव पोखरेलले त्यो रकम आज पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनभएको समयमा एउटा पालिकालाई कम्तीमा पच्चीस करोड पुगेको जानकारी गराउनुभयो । 
तर पनि मुलुकमा भइरहेको सामाजिक, आर्थिक परिवर्तन र विकासबाट सन्तुष्ट हुन नसकिने बताउँदै उहाँले मुलुकको तीब्र विकासका लागि राजनीतिक स्थायित्व र त्यसका लागि राजनीतिक ध्रूवीकरण आवश्यक रहेको धारणा राख्नुभयो । 
महासचिव पोखरेलले आगामी २०८४ को निर्वाचनमा एकल बहुमतसहितको निर्णायक शक्तिका रूपमा पार्टीलाई स्थापित गर्न पार्टीले मिसन–२०८४ अगाडि सारेकाले पार्टीको मिसनमा सफलताका लागि पार्टी प्रवेश सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले अपाङ्गता व्यक्तिको आफ्नो कमजोरी नभई प्राकृतिक र मानवीय दुर्घटनाबाट सिर्जना हुने बाध्यात्मक अवस्था भएकाले उनीहरूप्रति राज्य र समाजको सकारात्मक दृष्टिकोण आवश्यक रहेको धारणा राख्नुभयो । 
नवप्रवेशीका तर्फबाट माओवादी केन्द्रको अपाङ्ग परिषद्का केन्द्रीय सचिव धनप्रसाद न्यौपानेले नेकपा (एमाले)बाट अपाङ्गता भएका र भूँइमान्छेहरूलाई अन्य सपाङ्गहरूलाई सरह विना भेदभाव हेर्ने, न्यायोचित व्यवहार गर्ने छ भन्ने विश्वास व्यक्त गर्दै उचित जिम्मेवारीको अपेक्षा व्यक्त गर्नुभयो ।