detail-img

पार्टी नेताहरूद्वारा विधान महाधिवेशन स्थल निरीक्षण

२२ साउन(२०८२), ललितपुर । नेकपा (एमाले)का शीर्ष नेताहरूले विधान महाधिवेशन स्थल गोदावरीस्थित सनराईज हलको निरीक्षण गर्नुभएको छ । 
पार्टीका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरूले महाधिवेशन स्थलको निरीक्षण गर्नुभएको हो ।
नेकपा (एमाले)को विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुँदैछ । महाधिवेशनको तयारीका क्रममा आज बिहान महाधिवेशन स्थल निरीक्षण गरिएको हो । 
महाधिवेशन स्थल निरीक्षणका लागि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीलगायत  नेताहरू पनि गोदावरी जानुभएको थियो । 
उहाँहरूले महाधिवेशन स्थलको समग्र पाटोको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि पार्टीको विधान महाधिवेशन छिटो, छरितो र सुव्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि मुख्य सभाहल, बैठक कक्षहरू, सचिवालय सञ्चालन कक्ष, कुर्सीलगायतका फर्निचरको व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, मिडिया सेन्टर र मेडिकल टिमको व्यवस्थापन, खानेपानी व्यवस्था, गाडी पार्किङ स्थल लगायत स्थानहरूको व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।