detail-img

‘विकासको जग बसाल्न जनताको जीवनस्तर उठाउनुपर्ने’

३१ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताउनुभएको छ । 
राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा भएको ‘सांस्कृतिक कूटनीति र नेपालको विश्व पहिचान प्रवद्र्धन’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज भएको बताउनुभयो । 
‘विकासको जग भनेको जनताको जीवनस्तर उठाउने नै रहेछ, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन, जीवनस्तर उठाउनको लागि सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुरासँग जोडिन्छ’, उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभन्दा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको बताउनुभयो । नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने उहाँको धारणा छ । ‘नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने कुरालाई बुझेर यसलाई कृषिसँग जोड्नु पर्दछ’, उहाँले भन्नुभयो । 
पर्यटकहरूलाई घुम्ने र रमाउने वातावरण बनाउनको लागि पनि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले पर्यटकको बसाई लम्व्याउन सक्दा मात्र पर्यटन र अर्थतन्त्रको विकास गर्न सकिने बताउनुभयो । 
राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उहाँको धारणा छ । धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने महासचिव पोखरेलले बताउनुभयो ।
पछिल्लो समय बुद्ध दर्शनलाई संसारले शान्तिको प्रतिकका रूपमा लिने गरेको उहाँले बताउनुभयो । त्यसको नेपालले उपयोग गर्न सक्ने उहाँको धारणा छ । 
नेपालमा भविष्यको पर्यटन गन्तव्य क्षेत्र कर्णाली बन्न सक्ने उहाँको धारणा छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्ने महासचिव पोखरेलले बताउनुभयो ।