detail-img

भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्तीः महासचिव पोखरेल

३१ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताउनुभएको छ । 
भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको उहाँले बताउनुभयो ।
पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ढिलासुस्तीले आर्थिक अनियमिततालाई प्रश्रय दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– भ्रष्टाचार त समस्या हुँदै हो त्योभन्दा ठूलो समस्या ढिलासुस्ती हो । ढिलासुस्तीले राज्यलाई ठूलो नोक्सानी पुर्याउँछ । त्यसको ज्वलन्त नमुना मेलम्ची खानेपानी आयोजना हो । भ्रष्टाचारले भन्दा ठूलो क्षति ढिलासुस्तीले गरेको छ । 
मेलम्ची निर्माणमा ढिलाइ गरेको एकजना खलपात्र पूर्व सचिव भीम उपाध्याय नै अहिले  सुशासनको प्रवक्ता हुनु हास्यास्पद भएको महासचिव पोखरेलको भनाइ छ ।  
ढिलासुस्तीको भूमिका खेल्नेलाई इमान्दार मान्ने चलन समाजमा व्याप्त रहेको उहाँको भनाइ छ । यस्तो कुराले समाजमा ब्यापक निराशा फैलाएको महासचिव पोखरेलले बताउनुभयो । ‘जसले काम गर्दैन, उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनुपर्दछ, काम नगर्नु भनेको इमान्दार हुनु हो भन्ने भाष्य तोड्नु पर्दछ’, उहाँले भन्नुभयो ।
ढिलासुस्तीले गर्दा नै नारायणगढ–बुटवल सडक खण्डको बेहाल भएको उल्लेख गर्र्दै समयमा काम नगर्ने प्रवृतिका कारण यस सडकमा दुईपटक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने अवस्था आएको महासचिव पोखरेलले जानकारी दिनुभयो । 
उहाँले प्रशासनिक ढिलासुस्तीका कारण ठेकेदार नै काम छोडेर हिड्ने अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उच्च स्तरको कूटनीतिक सम्बन्धका कारण यस सडकको निर्माणले निरन्तरता पाएको बताउनुभयो । 
महासचिव पोखरेलले प्रशासनिक ढिलासुस्तीलाई न्यून गर्ने हो भने व्यवस्था र प्रणालीप्रति आम जनता स्वतः सकारात्मक हुने बताउनुभयो । प्रशासनिक संयन्त्रले गरेको ढिलासुस्तीको दोष पनि राजनीतिक संयन्त्रले खेप्नुपर्दा प्रणालीप्रति मानिसहरूको अविश्वास बढेको उहाँले बताउनुभयो । ‘सबै कागजपत्र पुगेका कामको निर्णय सातदिन भित्र भइसक्नु पर्दछ, जसले यस्ता कुरामा निर्णय दिन ढिलाइ गर्दछ उसलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।