detail-img

लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भारत र चीन बीच भएको सहमति अस्वीकार्यः डा.भट्टराई

६ भदौ (२०८२), रामेछाप । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले एमाले राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै नेता भट्टराईले नेपाललाई जानकारी नदिई भारत र चीन बीच लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भएको सहमति एमालेलाई स्वीकार्य नभएको बताउनुभयो । 
पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सो विषयमा जानकारी आउने बित्तिकै आपत्ति जनाएको उहाँले स्मरण गराउनुभयो । ‘सबैभन्दा पहिला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विरोध जनाएको हो, हामी राष्ट्र र राष्ट्रिय अखण्डताको पक्षमा प्रतिबद्ध छौँ’, उहाँले भन्नुभयो । 
विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी पनि एमाले नै भएको उहाँले बताउनुभयो । डा.भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हेर्न चुनौती दिनुभयो । ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उहाँले भन्नुभयो । 
२०८४ सम्म यो गठबन्धनलाई कायम गरेर जाने र कसैसँग गठबन्धन नगरी चुनाव लड्ने बताउँदै डा. भट्टराईले एक्ला एक्लै चुनाव लड्दा एमालेले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 
देशको राजनीतिलाई अहिलेको अवस्थासम्म डोर्याएर ल्याउने नेता केपी शर्मा ओली भएको र यसबाट जलन भएकाहरू अहिले एक भएर एमाले र अध्यक्ष ओलीमाथि आक्रमणमा उत्रिएको नेता भट्टराईको भनाइ छ । ‘केपी ओली बिनाको एमाले बनाउन सफल भएको भोलिपल्ट एमाले बिनाको नेपालको नारा आउँछ, केपी ओली विरुद्धको प्रहार एमाले विरुद्धको प्रहार हो, यो एमाले पङ्तीले बुझ्न जरूरी छ’, उहाँले भन्नुभयो । 
पार्टीले गरेका राम्रा कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसक्नु विडम्बना भएको बताउँदै डा. भट्टराईले भन्नुभयो– विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ । 
संवैधानिक राष्ट्राध्यक्ष भएको गणतन्त्रात्मक मुलुकमा राष्ट्रपति भएको व्यक्ति पुनः सक्रिय राजनीतिमा आएको उदाहरण नभएको बताउँदै उहाँले नेपालका पूर्वराष्ट्रपति पनि सक्रिय राजनीतिमा आउन नहुने धारणा राख्नुुभयो । 
अन्तर्राष्ट्रिय अभ्यास, संविधानको मर्म र भावनाको आधारमा पनि पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने उहाँले स्पष्ट पार्नुभयो । 
विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा नआई नहुने के अवस्था आयो ? प्रश्न गर्दै भण्डारीले यस अगाडि कुनै लाभ नलिएको र अन्यायमा परेको स्थिति पनि नरहेको डा. भट्टराईले स्पष्ट पार्नुभयो । 
पार्टीका जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता सुरु भएको बैठक दुई दिनसम्म चल्ने जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो । 
बैठकमा वार्षिक आयव्यय विवरण, वार्षिक कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधन लगायतका विषयमा छलफल गरी निर्णय हुने जिल्ला कमिटी अध्यक्ष कडरियाले बताउनुभयो । त्यस्तै विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी पूर्णता, जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठन लगायतका विषयमा पनि निर्णय हुने उहाँले बताउनुभयो । 
बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईं, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की लगायतका नेताहरूको सहभागिता रहेको छ ।