७ भदौ (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किंदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने धारणा राख्नुभयोे ।
उहाँले भन्नुभयो– पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परमाधिपति भइसकेको व्यक्ति हो । उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरूले गर्नुहुँदैन ।
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको भनाइ राख्दै महासचिव पोखरेलले माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताउनुभयो ।
माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने उहाँको धारणा छ ।
अर्को सामयिक प्रसङ्गमा महासचिव पोखरेलले नेपालको सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताउनुभयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो– सहमति विना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य छ ।
‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ’, महासचिव पोखरेलले भन्नुभयो– नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।
पार्टीको दोस्रो विधान महाधिवेशनका बारेमा जानकारी गराउँदै उहाँले विधान महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने बताउनुभयो । विधान महाधिवेशनका सन्दर्भमा यतिबेला पार्टीका साढे छ लाख सदस्य विभिन्न कमिटीका बैठक र भेलामा छलफलमा सहभागी भइरहेको जानकारी गराउनुभयो ।