११ भदौ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिहरूलाई सक्रियतापूर्वक तयारीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले सबै उपसमितिलाई तयारीको काम तीब्र पार्न समेत निर्देशन दिनुभयो ।
महाधिवेशन व्यवस्थापन समितिको आज बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मुल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनुभयो ।
बैठकमा आठवटै उपसमितिका प्रमुखहरूले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । प्रतिनिधि, मञ्च तथा हल, स्वयंसेवक, आवास, खाद्य व्यवस्थापन उपसमितिले आफ्नो तयारीका बारेमा जानकारी गराएका थिए ।
यसैगरी बैठकमा प्रचार, यातायात, स्वास्थ्य, साँस्कृतिक, स्वागत गेट तथा साजसज्जा, दस्तावेज प्रकाशन र कार्यालय तथा लजिस्टिक व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा जानकारी गराएका थिए ।
पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुने छ । पार्टीले हिजो भदौ १० गते महाधिवेशनको मुल नारा तय गरेको थियो । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्पः समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मुल नारा बनाएको छ ।
विधान महाधिवेशनमा स्वयंसेवकको भूमिकाका लागि विभिन्न जनसंगठनबाट करिब तीन सय जनाको नाम सङ्कलन गरिएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३७८ सहभागी हुने छन् । महाधिवेशनको तयारीका बारेमा जानकारी गराउन भदौ १८ गते पार्टीले बृहत पत्रकार सम्मेलन आयोजना गर्ने पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
आजको बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, पद्मा अर्याल पनि सहभागी हुनुहुन्थ्यो ।