-राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न आग्रह
-लुटपाट,आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जीउधनको सुरक्षा प्रभावकारी रूपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरूलाई आह्वान
-यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टीपङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न आग्रह
२५ भदौ (२०८२), काठमाडौं । नेकपा (एमाले)ले जेन जी पुस्ताको आन्दोलनपछिको राजनीतिक सङ्क्रमणको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
पार्टीका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणामुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीब्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रूपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानआकर्षण गराउँछौं ।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन दिन नहुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– समस्या समाधानका प्रत्येक प्रयासले लोकतन्त्र थप सुदृढ गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ ।
उहाँहरूले असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट,आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जीउधनको सुरक्षा प्रभावकारी रूपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरूलाई आह्वान गर्नुभएको छ ।
आन्दोलनका क्रममा १९ जनाको निधन र चार सयभन्दा बढी घाइते भएको घटनाले एमाले दुःखित भएको भन्दै विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएकोछ– घटनाको निष्पक्ष छानविन हुनुपर्दछ र दोषीमाथि कानुन बमोजिम कारबाही हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
उहाँहरूले पार्टीपङ्क्तिलाई कति पनि विचलित नहुन, एकताबद्ध हुन र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छः
प्रिय कमरेडहरू,
मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरू अवगत नै हुनुहुन्छ । भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाको दुःखद निधन र चारसय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ । मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिजो देशैभरि भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ । सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौं संरचनाहरू ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्तावेज र लिखतहरू जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौंको नोक्सानी भएको छ । जेलबाट गम्भीर कसुरमा दोषी साबित भएका सहित हजारौं कैदीबन्दीहरू बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरू निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।
प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरूको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरूको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरू कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।
यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टीपङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ । हामीहरू निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरूमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ । सङ्कटको यस घडीमा सबै कमरेडहरूलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयास गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ । समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ । तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरूको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ ।
प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीब्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रूपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रूपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरूलाई हार्दिक आह्वान गर्दछौँ ।
शंकर पोखरेल
महासचिव
प्रदीप ज्ञवाली
उपमहासचिव
२५ भदौ २०८२