–भदौ २३ र २४ को घटना आकस्मिक नभई पूर्वनिर्धारित हिंसाको योजना
–आपराधिक तत्वबाट आतङ्कित जनतालाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा
–अहिले लोकतन्त्र र संविधानको रक्षाका निमित्त युवा उठ्नुपर्ने बेला
२३ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्णबैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ट परिस्थिति भएको बताउनुभयो । यो परिस्थितिलाई लामो समय जान दिनु नहुने बताउँदै उहाँले त्यसको जिम्मेवारी युवाको काँधमा रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना आकस्मिक घटना नभएको बताउनुभयो । व्यक्तिका घरमा चिन्ह लगाई लगाई आक्रमण गरिएकाले त्यो पूर्वनिर्धारित हिंसाको योजना भएको उहाँको धारणा छ ।
अहिले सिङ्गो देश आतङ्कको अवस्थामा रहेको र सबैलाई अनेक खालका धम्की दिने काम गरिएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो–तिनलाई मन नपर्ने कुरा कुनै लेख, टिप्पणी, समाचार दियो भने धम्की आउँछ ।
अहिले विभिन्न प्रकारका आपराधिक तत्वबाट जनता आतङ्कित भइरहेकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको र त्यो जिम्मेवारी नेकपा (एमाले)का युवाले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– म सिङ्गो देशले सुन्ने गरी भन्न चाहन्छु, अब कोही पनि देशमा नडराउनुस्, यो देशमा नेकपा (एमाले) छ, देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन, कसैका पसलहरू, डिपार्टमेन्ट स्टोरहरू लुट्न दिइने छैन ।
अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको र प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उहाँको भनाइ छ ।
युवा शान्त हुनुपर्ने तर अन्यायका विरुद्ध भने उठ्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले लोकतन्त्र र संविधानको रक्षाका निमित्त युवा उठ्नुपर्ने बेला आएको बताउनुभयो ।
देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको बताउँदै उहाँले भन्नुभयो– देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, यस्तो तमासा भएको छ ।
यस्ता कार्यका विरुद्ध सडकमा उत्रिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने उहाँले स्पष्ट पार्नुभयो । एमालेले अब प्रशासनसँग अनुमति लिएर आन्दोलन नगर्ने उहाँले चेतावनी दिनुभयो । ‘तपाईँहरूको विरोध गर्न अब तपाईँहरूसँग अनुमति माग्न आउँदैनौँ, अध्यक्ष ओलीले भन्नुभयो ।
आगो लगाउने र लुटपाट गर्नेलाई छाड्ने प्रशासनले एमालेको शान्तिपूर्ण प्रदर्शनलाई रोक लगाउने र स्थानहद तोक्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको र संविधानमा भएको अधिकारलाई सिडिओको आदेशले नकाट्ने अध्यक्ष ओलीले बताउनुभयो ।
भदौ २४ पछि प्रेस स्वतन्त्रतामा गम्भीर धक्का पुगेकाले र पछिल्ला दिनमा पत्रकार र सञ्चार माध्यमका लागि परिस्थिति माघ १९ भन्दा जटिल हँुदै गएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउने बताउनुभएको छ । उहाँले एमाले लामो समयदेखि राष्ट्रिय शक्ति भए पनि अब निर्णायक राष्ट्रिय शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।