२९ कात्तिक (२०८२), सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले अहिले अघि सारेको जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रका विरुद्ध संविधान, लोकतन्त्र र जनताको पक्षमा उभिन अगाडि सारिएको अभियान भएको बताउनुभएको छ ।
शनिबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले यसले पार्टी जनतासँग अझ घनिष्ठ रूपमा जोडिन सफल भएको बताउनुभयो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली राजनीति, समाज र शासन प्रणालीमा गम्भीर असर पारेको उल्लेख गर्दै उहाँले घटनाहरू स्वतःस्फूर्त भावनात्मक आन्दोलन मात्र नभई रणनीतिक रूपमा हाइज्याक गरिएको आन्दोलन भएको बताउनुभयो ।
‘पश्चिमी मुलुकहरूबाट थोपरिएको ‘जेन्जी’ नाम नै नेपाली समाजको उमेर–वर्गीकरणसँग मेल नखाने अवधारणा हो, जसले नयाँ र पुराना पुस्ताबीच मनोवैज्ञानिक दूरी सिर्जना गर्ने उद्देश्य बोकेको छ ।’
उहाँले डिजिटल प्लेटफर्ममा फैलिएका हानिकारक सामग्री, एआई–निर्मित भिडियो, फेक अकाउन्ट र साइबर अपरेसनका कारण आन्दोलन हिंसामा परिणत भएको बताउँदै ३३ प्रतिशतभन्दा धेरै सामग्री बाह्य स्रोतबाट निर्माण गरिएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको जानकारी दिनुभयो ।
काठमाडौँमा भएको विनाशकारी आगजनी र सरकारी–निजी सम्पत्तिमाथि भएको योजनाबद्ध आक्रमणलाई साधारण असन्तुष्ट युवाहरूको कदमका रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै महासचिव पोखरेलले त्यसमा ‘विशेष तयारी, रणनीति, रासायनिक प्रयोग र भूराजनीतिक संलग्नता’को सम्भावना औँल्याउनुभयो ।
आफ्नो घरमा भएको आगलागीको विवरण प्रस्तुत गर्दै उहाँले स्टिल र्याक पग्लिनु, ढलान जलेर भत्किनुजस्ता घटना पेट्रोल–डिजेलको कारण मात्र हुने नसक्ने उल्लेख गर्दै सो सबै क्रियाकलाप ‘योजनाबद्ध षड्यन्त्र’ अन्तर्गत सञ्चालन भएको भनाइ राख्नुभयो ।
महासचिव पोखरेलले युवापुस्ताका जायज माग सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रतालाई एमालेले सम्मान गर्ने स्पष्ट पार्दै ती मागलाई दुरुपयोग गरी स्वार्थी समूहहरूले आन्दोलनलाई हिंसातर्फ धकेलेको धारणा राख्नुुभयो ।
उहाँले भन्नुभयो– युवाको नाममा भएको हिंसा वास्तविक युवाको नेतृत्वमा थिएन तर देश अस्थिर पार्ने उद्देश्यले सक्रिय भूराजनीतिक एजेन्ट र स्वार्थी तत्वका कारण हिंसा बढाइएको हो ।
प्रतिनिधि सभा विघटन, सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोधबारे बोल्दै महासचिव पोखरेलले अहिलेको सत्ता संरचनालाई संविधानले नचिनेको बताउनुभयो ।
उहाँले भन्नुभयो– पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्रीका भूमिकामा उभिनु नै संविधानको मर्म विपरीत हो र दलहरूबीच सहमति नबनाई गरिएको प्रतिनिधि सभा विघटन लोकतान्त्रिक संरचनालाई कमजोर पार्ने प्रयासको हिस्सा हो ।
विगतमा एमाले नेतृत्वको विघटनलाई अहिलेको घटनासँग तुलना गर्नै नहुने बताउँदै महासचिव पोखरेलले त्यति बेला विश्वासको आधारमा गरिएको निर्णय सर्वोच्च अदालतले उल्टाउँदा आफूहरूले सम्मानपूर्वक स्वीकार गरेको स्मरण गराउनुुभयो । अहिले भने विघटन प्रक्रिया नै संविधान र कानुनी ढाँचाबाहिरबाट गरिएको उहाँको भनाइ छ ।
नेकपा (एमाले)लाई ‘चुनावबाट डराएको’ भन्ने टिप्पणीको खण्डन गर्दै उहाँले एमाले चुनावबाट भाग्ने नभई निर्वाचन नै हुन नदिने षड्यन्त्रविरुद्ध लडिरहेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– संसद् पुनर्स्थापना हुनु लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम हो र एमाले जनतासँग मिलेर सो अभियानलाई सफल बनाउन अग्रसर छ ।
उहाँले काठमाडौँमा मङ्सिर ६ गतेका लागि तय गरिएको ठुलो जनसभाले भदौ २३–२४ पछि घटेको मनोबल समेत उठाउने विश्वास व्यक्त गर्नुभयो ।
एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रान्ति, अफवाह र चरित्रहत्या अभियानलाई ‘घटनाक्रमलाई उल्ट्याएर जनमानसलाई भ्रमित पार्ने प्रक्रिया’को रूपमा चित्रण गर्दै महासचिव पोखरेलले भन्नुभयो– हाम्रो घरमा धन–दौलत होइन, पुस्तक मात्र भेटिन्छन्, सुशासनका कुरा गर्ने केही पात्रको घर भने अवैध सम्पत्तिले भरिएको पाइन्छ ।
डिप–स्टेट, भूराजनीति र एनजीओ÷आइएनजीओको भूमिकाबारे बोल्दै उहाँले पश्चिमी मुलुकहरूले विकासशील राष्ट्रहरूमा ‘कलर रिभोलुसन’जस्ता प्रयोग गर्दै राज्यसत्ता कमजोर पार्ने दीर्घकालीन रणनीति अघि सारेको बताउनुभयो ।
उहाँले भूराजनीतिक दबाबबीच स्वतन्त्र राष्ट्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको तर्क प्रस्तुत गर्नुभयो ।
भदौ २३ र २४ को घटना राज्यद्रोहको स्वरूपमा रहेको, युवालाई मानव ढालको रूपमा प्रयोग गरिएको उहाँले बताउनुभयो । आन्दोलन र हिंसाबीच स्पष्ट विभाजन हुनुपर्ने महासचिव पोखरेलको धारणा छ ।
राष्ट्र कमजोर पार्ने उद्देश्य लिएर गरिएको प्रयत्नको सत्यता बिस्तारै खुल्दै गएको र जनता भ्रमबाट मुक्त हुँदै एमालेलाई पुनः विश्वास गर्न थालेको उहाँको बुझाइ छ । एमालेले इतिहासमा जस्तै अहिले पनि लोकतन्त्र, संविधान र राष्ट्रहितका पक्षमा निर्णायक भूमिका खेल्न तयार रहेको महासचिव पोखरेलले बताउनुभयो ।