detail-img

नेसनल भोलेन्टियर फोर्स हिंसा र अराजकताका विरुद्धः अध्यक्ष ओली

‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा 


५ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)ले पार्टी  संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित ‘नेसनल भोलेन्टियर फोर्स गठन गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख  आतिथ्यमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले माइतीघरस्थित कार्की क्याङ्केटमा भव्य कार्यक्रमबीच आज फोर्सको औपचारिक घोषणा गर्नुभयो ।
नवगठित फोर्सको कमाण्डरका रूपमा पुष्पराज श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । श्रेष्ठ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्व उपाध्यक्ष हुनुहुन्छ । फोर्सको सह–कमाण्डरमा अमित पौडेल र बिनिता काफ्ले रहनुभएको छ । 
फोर्समा देशका सबै जिल्लामा संरचना र सदस्य रहने व्यवस्था गरिएको छ । फोर्सले आगामी दिनमा विभिन्न सामाजिक अभियान, ठूलो जनसमूह व्यवस्थापन, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन तथा पार्टीका विभिन्न कार्यगत गतिविधिमा समन्वयकारी भूमिका निर्वाह गर्ने  छ ।

भोटेन्टियर फोर्सको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता–नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)कसैका विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभयो । 
अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता, जनधन, औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकाले स्वयंसेवी दस्ता बनाउनुपरेको स्पष्ट गर्नुभयो । 
‘यदी कसैले शान्ति भङ्ग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो– फोर्सले प्राकृतिक विपत्ति र जनताका समस्या समाधानमा काम गर्ने छ ।
उहाँले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरूको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले जेनजीका नाममा नक्कलीहरु खडा भएर विध्वंस मच्चाएको बताउनुभयो । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वयंसेवीहरू २४ गते तोडफोड र आगजनीमा उत्रिएको उहाँले बताउनुभयो । 
‘हामीले गठन गरेको फोर्स यस्ता अराजकतावादी काम गर्दैन’, अध्यक्ष ओलीले भन्नुभयो– यसले देशमा शान्ति र राजनीतिक स्थिरताका लागि काम गर्छ ।
प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ति प्रकट गर्दै उहाँले भन्नुभयो– देशमा थप विध्वंस मच्चाउने तपाईंको योजना हो कि सपना हो ? तपाईंको योजना हो भने त्यो पुरा हुन दिइँदैन । सपना हो भने यस्ता विध्वंसकारी सपना देख्न छोड्नुहोस् ।