यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो, यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन, सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ ।
-जेनजीका नाममा युवालाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ
-सरकारलाई प्रहरी पनि एमाले जस्तो, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ
६ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली अस्वीकार गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्कीको नेतृत्वमा सरकार कृत्रिम ढङ्गले गठन भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन । सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले यसलाई कुनै हालतले उचित ठहर्याउन सक्दैन ।
मानिसको पुस्तासँग जोडेर जेनजी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृत्रिमको संज्ञा दिनुभएको छ । ‘जेनजीका नाममा युवालाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’, अध्यक्ष ओलीले भन्नुभयो– हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौं । यस्तो बेला युवालाई भड्काएर हामीविरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो ।
अध्यक्ष ओलीले आफूहरू सत्तामा हुँदा होस् वा नहुँदा, सधैं वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले कुनै नाटक गरेर देश नचल्ने र फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको बताउनुभयो ।
निर्वाचनको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयो– नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरर्पोट बन्द गरेको छ । प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन । सरकारलाई प्रहरी पनि एमाले, सशस्त्र पनि एमाले, अदालत पनि एमाले, सेना पनि एमाले जस्तो लाग्न थालेको छ, कर्मचारी पनि एमाले लाग्न थालेको छ ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा यही मङ्सिर २७ गते इतिहासकै सबैभन्दा बढी जमघट हुने सभा गर्न चाहेको बताउनुभयो ।
उहाँले उत्सव र सङ्घर्षको ‘क्लाइमेक्स’का रूपमा महाधिवेशन उद्घाटन समारोहका निम्ति आह्वान गर्नुभयो ।
महासचिव पोखरेलले वर्तमान अन्तरिम सरकार विध्वंसको जगमा बनेको र यो सरकारले प्रतिनिधिसभाको चुनाव नगराउने भनाइ राख्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगायत नेताहरूले पनि बोल्नुभएको थियो ।