८ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताउनुभएको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताउनुभयो ।
अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उहाँले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताउँदै ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।
यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै जनपरिचालन समितिका संयोजक ज्ञवालीले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको बताउनुभयो ।
प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायकरूपमा प्रभावशाली रहँदै आएको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले अहिले नेकपा (एमाले) फेरि लयमा फर्किएको र एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताउनुभयो ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुबीकरण भइरहेको उल्लेख गर्दै उहाँले जति धेरै राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घट्ने बताउनुभयो ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठुलो जनपरिचालन हुने बताउनुभयो । यसका लागि आवश्यक तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार, आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ ।