८ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताउनुभएको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रमको काम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताउनुभयो । ‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन्’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले पार्टीको ११औं महाधिवेशनमा ४० बर्षमुनिका युवाको सहभागितालाई बृद्धि गर्न आरक्षण नीतिसमेत अबलम्बन गरिएको बताउनुभयो ।
पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू विधान महाधिवेशनमै अन्तिम रूप पाइसकेको बताउँदै महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनलाई विधान महाधिवेशनसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।
नीति निर्माणका विषयमा छलफल नहुने भए महाधिवेशनको के अर्थ भन्ने जस्तोगरी भ्रम सिर्जना नगर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।
उहाँले ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताउनुभयो । ‘यो महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुने छ’, महासचिव पोखरेलले भन्नुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठुलो र ऐतिहासिक प्रदर्शन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । त्यसका लागि तलसम्म लाग्न पनि महासचिव पोखरेलले आग्रह गर्नुभयो ।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य र ठुलो उपस्थितिका साथ प्रतिगमनविरूद्धको निर्णायक मोड बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने उल्लेख गर्दै उहाँले युवा पुस्ता, विशेषतः जेन–जेड मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताउनुभयो ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा बाग्मती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । प्रदेश संगठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित बाग्मतीलाई केन्द्रबिन्दु बनाइएको उहाँले बताउनुभयो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख एवं महाधिवेशन प्रचार समितिका सचिव राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकले सुझाव सङ्कलनसहित महाधिवेशनको प्रचार सम्बन्धी ठोस कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेको छ ।