१० मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)को आसन्न एघारौं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आज सचिवालयको बैठक बस्यो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा विहान बसेको बैठकमा महाधिवेशनलाई ऐतिहासिकरूपमा भव्य र सफलतापूर्वक सम्पन्न गर्न गठन गरिएका विभिन्न १२ उपसमितिका संयोजक र सचिवहरूबाट आ–आफ्ना समितिका कामको प्रारम्भिक तयारीका बारेमा जानकारी गराउनुभयो ।
बैठकमा पार्टीको एघारौं महाधिवेशनको लोगोका बारेमा परामर्श गरिनुका साथै जनसहभागितालाई ध्यानमा राखी महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रम भक्तपुरको सल्लाघारीमा आयोजना गर्नेबारे छलफल भयो ।
बैठकमा महाधिवेशनमा जनपरिचालन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि छनौटको तयारी, यातायात व्यवस्थापन, प्रचार, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य तथा मेडिकल टिम परिचालन लगायतका काम सुव्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा सबैजसो संयोजकहरूबाट आ–आफ्ना समितिका बैठक बसी कामलाई अगाडि बढाइसकिएको विफिङ भएको थियो । बैठकमा समिति संयोजकहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, डा.राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, भानुभक्त ढकाल, लालबाबु पण्डित, पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ, केन्द्रीय सदस्यहरू विना श्रेष्ठ, रचना खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी निर्णय गरिएको बताउनुभयो ।
नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने तय भएको छ । नीति र विधि निर्माणको काम यसअघि भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट सम्पन्न भइसकेकाले यस राष्ट्रिय महाधिवेशनले नेतृत्व चयनको काम गर्ने छ । महाधिवेशनमा दुईहजार तीनसयको हाराहारीमा प्रतिनिधिहरूले भाग लिने छन् ।