१० मङ्सिर (२०८२), काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेता गोलेलाई बुधाबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास गुण्डुमा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको उपस्थिति रहेको थियो ।
नेता गोलेले एमाले लामो इतिहास बोकेको पार्टी भएको बताउँदै एमालेमा प्रवेश गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । जनता समाजवादी पार्टी विभाजित भएर समाप्त भएको बताउँदै उहाँले देशलाई यतिबेला स्थायित्व आवश्यक रहेको बताउनुभयो । देशलाई स्थायित्व दिन नेकपा (एमाले) नै बलियो शक्ति बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यो पार्टीलाई नै मजबुत र सशक्त बनाएर लैजानुपर्ने आजको आवश्यकता छ’, उहाँले भन्नुभयो ।