११ मङ्सिर (२०८२), काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) र सरकारबीच द्विपक्षीय सम्वाद भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निवास, बालुवाटारमा आज भएको बैठकमा नेकपा (एमाले)का नेताहरूले निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढङ्गले निर्वाचन हुने र मतदाताले निर्भयताका साथ मतदान गर्ने वातावरण बन्न नसकेको प्रधानमन्त्रीलाई बताउनुभएको थियो ।
बैठकमा पार्टीको तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधि सभामा प्रमुख सचेतक महेश बर्तौला सहभागी हुनुहुन्थ्यो ।
बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनको संस्थागत समर्थन र सहयोगका लागि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउने सवालमा एमालेले राखेका विषयहरूमा सरकारको ध्यानाकर्षण भएको र सक्दो प्रयास गरिरहेको बताउनुभएको बताइएको छ ।
नेकपा (एमाले) एउटा लोकतान्त्रिक पार्टी भएकाले कहिल्यै पनि चुनावको विरोधी नभएको जानकारी गराउँदै प्रधानमन्त्रीसँगको सम्वादमा चुनावका लागि राजनीतिक दल र नेताहरू जनतासम्म जान पाउनुपर्ने र मतदाताले ढुक्कसँग मतदान केन्द्रसम्म जान पाउने वातावरण अझै निर्माण हुन नसकेको साथै राजनीतिक दलले मुलुकका विभिन्न ठाउँमा गरेका कार्यक्रममा अवरोध गरिएको विषयमा पनि एमालेले ध्यानाकर्षण गराएको छ ।
बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बर्तौलाले नेकपा (एमाले) जनताको बीचमा गएर परीक्षित हुने कुरामा तयार रहेको तर त्यसका लागि चुनावमा सहभागी हुने अपिल होइन, वातावरण खोजिरहेको प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो ।
चुनावको वातावरण नरहेको आफूहरूको निष्कर्ष प्रधानमन्त्रीलाई सुनाएको बताउँदै उहाँले भन्नुभयो– निष्पक्षता र निर्भयताको कुरामा हामी विश्वस्त हुने आधार नबनेको बतायौं । पूर्वशर्तको रूपमा रहेको शान्ति सुरक्षाको पाटो, दलहरूले भयरहित ढङ्गले जनतामा जाने र मतदाताले विवेकको मत राख्ने परिस्थिति नबनेको अबस्थाबारे गम्भीर ध्यानाकर्षण गरायौं ।