detail-img

११औं महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छः अध्यक्ष ओली

-११औं महाधिवेशन प्रतीक चिन्ह (लोगो) सार्वजनिक 

१४ मङ्सिर (२०८२), काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।
पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताउनुभयो । 
उहाँले अध्यक्षका हैसियतमा आफ्नो प्रयास सहमति, एकता, रुपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने स्पष्ट गर्नुभयो । 
‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’, अध्यक्ष ओलीले भन्नुभयो– चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टिकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।

अनिर्वाचितहरूले शासन चलाउनु संविधान विपरीत

पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत निर्मित भएको र  सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गर्नुभयो । 
जनताबाट निर्वाचितहरू सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरू सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत हुन नसक्ने बताउँदै उहाँले यो सरकार संविधान विपरीत छ र विघटित संसद् पुनःस्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्न सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान र जनमतको सम्मानका पक्षमा पार्टी अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सो कार्यक्रमको अध्यक्षता गर्दै पार्टीका सचिव तथा ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक पद्मा अर्यालले महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको बताउनुभयो । 
सचिव अर्यालले भन्नुभयो– लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्दछ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सबै उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू लगायत ठुलो सङ्ख्यामा नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।