detail-img

झापाबाट अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्रा शुरू 

१६ मङ्सिर (२०८२), विर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेची–महाकाली विद्यार्थी जागरण यात्रा थालेको छ । 
झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीले आज अनेरास्ववियुको झण्डा विद्यार्थीहरूलाई हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभयो । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । 
सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष धामीले अनेरास्ववियुका विद्यार्थीहरूको काँधमा देश बचाउने जिम्मेवारी आएको बताउनुभयो । 
उहाँले देशभित्र एकता भाँड्नेहरू विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताउनुभयो । युवालाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै धामीले  अनेरास्ववियुमा आवद्ध विद्यार्थी देशको रक्षार्थ सधैं अग्रभागमा उभिने भनाइ राख्नुभयो । 
युवा विद्यार्थीहरूलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै अध्यक्ष धामीले अनेरास्ववियुले देशमा आगो लगाउनेहरूका पक्षमा ताली बजाउन नसक्ने उद्घोष गर्नुभयोे । 
उहाँले भन्नुभयो– हामी देश जल्दा ताली बजाउने युवा विद्यार्थी उत्पादन गर्दैनौं ।
अनेरास्ववियु राष्ट्रभक्त युवा विद्यार्थीहरूको संगठन भएको बताउँदै धामीले देशको भूमि, सम्पदा र सार्वभौम रक्षाका लागि अनेरास्ववियुमा गोलबन्ध हुन आह्वान पनि गर्नुभयो । 
कार्यक्रमका विशिष्ट अतिथि नेकपा (एमाले) कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुमा गोलबन्ध हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । युवाका नाममा देशलाई पछि धकेल्न गरिएको आन्दोलन प्रतिगमन भएको भनाइ राख्दै उहाँले भदौं २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको धारणा राख्नुभयो । 
यस्तै, अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरूको कक्षा–कक्षामा पुग्ने र देशमा बढ्दै गइरहेको अराजकतालाई तह लगाउन अनेरास्ववियुलाई थप बलियो संगठनको रूपमा स्थापित गर्न अभियान चलाइने बताउनुभयो ।