detail-img

मङ्सिर २९ सम्म पार्टीमा कुनै ध्रुव नरहने उपाध्यक्ष पौडेलको विश्वास 

-नेकपा (एमाले) फेरि पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्ने छ
-११औँ महाधिवेशनमा मेरो उम्मेदवारी अध्यक्ष र महासचिव बाहेकका पदमा हुन्छ
-एमालेविरुद्ध घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने छन्


१७ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गर्नुभएको छ । 
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको सम्वाद कार्यक्रममा उहाँले प्रश्न  गर्नुभयो– तपाईंहरूलाई यो ध्रुव मङ्सिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? 
एमालेको आन्तरिक जीवन कुनै समस्यामा नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ, के तपाईंहरूलाई लाग्छ यो मङ्सिर २९ गतेसम्म रहला ? मङ्सिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उपाध्यक्ष पौडेलले भन्नुभयो । 
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि पनि नेकपा (एमाले) अघि बढ्ने स्पष्ट पार्नुभयो । 
उपाध्यक्ष पौडेलले भन्नुभयो– अध्यक्ष ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नुपर्छ । 
एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको भनाइ उहाँले राख्नुभयो । एमालेले लिने नीति देशको नीति बन्ने उहाँको भनाइ छ । 
महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै उपाध्यक्ष पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पार्नुभयो । ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नुपर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ताभित्र परिहाल्छु, त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उहाँले भन्नुभयो । 
आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको स्पष्ट गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो– पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन, म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हुँ, ११औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ तर त्यो पछि नै तय हुन्छ । 
नेकपा (एमाले) विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने विश्वास उहाँले व्यक्त गर्नुुभयो । ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुगेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्याउने अभियानमा छौँ’ उहाँले भन्नुभयो । 
एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभई सारा हण्डर आएर, त्याग, बलिदान र सङ्घर्षबाट बनेको पार्टी भएको बताउँदै उपाध्यक्ष पौडेलले भन्नुभयो– कस्ता कस्ता प्रतिकूलता त सामना गरेर आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन । 
फरक प्रसङ्गमा उहाँले अहिले संविधान लिक बाहिर भएकाले त्यसलाई लिकमा ल्याउनुपर्ने बताउनुभयो । ‘हामी सबैभन्दा पहिला मुलुकलाई संविधानको लिकमा फर्काउन चाहन्छौँ, यस सम्बन्धी निर्णय एमालेले सार्वजनिक गरिसकेको छ, प्रतिनिधि सभाको पुनस्र्थापना नै यसको सहज बाटो हो, प्रतिनिधि सभा पुर्स्थापना गरी सहमतिको आधारमा संविधान संशोधन गरेर शीघ्रातिशीघ्र एमाले निर्वाचनमा जान चाहन्छ’, उपाध्यक्ष पौडेलले भन्नुभयो । 
नेकपा (एमाले) राजनीतिक अधिकारको पक्षमा, मौलिक अधिकार र मानव अधिकारको पक्षमा रहेको स्पष्ट गर्दै जेनजीले उठाएका माग सम्बोधन गर्न एमाले तयार रहेको उहाँले बताउनुभयो । 
वर्तमान सरकार चुनाव गराउने मनस्थितिमा नरहेको उहाँले बताउनुभयो । 
चुनावका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा सरकारले राजनीतिक दललाई किनारामा राख्ने, नेताहरूलाई अपमान गर्ने, स्थानहद तोक्ने जस्ता काम गरेको भनाइ राख्दै उपाध्यक्ष पौडेलले भन्नुभयो–  यो सरकारले चुनाव गराउँछ भन्ने कुरामा हामी आश्वस्त छैनौँ ।