detail-img

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैनः उपमहासचिव रिमाल

१८ मङ्सिर (२०८२) काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्वाद कार्यक्रममा उपमहासचिव रिमालले एमाले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताउनुभयो ।
‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’, उहाँले भन्नुभयो– त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ । बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन ।
एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४००  प्रतिनिधि सहभागी हुनेछन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।