१८ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा वैचारिक रूपमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशन जनपरिचालन भेलालाई सम्बोधन गर्दै उहाँले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौति रहेकाले त्यसको सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– अहिलेका चुनौतिलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउन चाहने हामीहरू फेरि प्रतिस्पर्धा गरौंला र तर अहिलेको समय चुनौतिलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।
पार्टीमा नेतृत्वका लागि रहर गर्ने साथीहरूका लागि भने प्रतिस्पर्धा खुला रहेको उहाँले स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले पार्टीको तल्लो तह÷कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताउनुभयो । पार्टीमा आएका जति पनि सङ्कटलाई पार्टीको कार्यकर्ता पङ्क्तिले समाधान गर्ने, पार लगाउन भूमिका खेल्ने गरेको बताउँदै उहाँले भन्नुभयो– सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ तर जति तल तल आयो त्यो सङ्कट समाधान हुन्छ ।
उहाँले कार्यकर्ताले पार्टीको रक्षा गर्ने गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यो भूमिका अपेक्षित रहेको बताउनुभयो ।
महासचिव पोखरेलले अहिलेका चुनौति सामना गर्न पार्टीले बनाएका नीति र दृष्टिकोण प्रभावकारी र स्पष्ट रहेको बताउनुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले पार्टीको नेतृत्वलाई बलियो बनाएर जानुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले पार्टीको ११औं महाधिवेशन सफल र भव्य बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।