detail-img

लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न अध्यक्ष ओलीको विकल्प छैनः उपाध्यक्ष बादल

-सहमतिका साथ एकताबद्ध नेतृत्व अघि बढाउने केन्द्रीय कमिटीको निर्णय हो
-अहिले उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन 
-पदाधिकारी सङ्ख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको छ


१९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको ११औँ महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष बादलले अध्यक्ष ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो ।  उहाँले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि अध्यक्ष ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय कमिटी पुगेको बताउनुभयो । 
अध्यक्ष ओलीका नीति, विचार र उहाँले हासिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष बादलको जिकिर छ ।
उहाँले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत उपाध्यक्ष बादलले बताउनुभयो ।
उहाँले भन्नुभयो– हुन त अहिले पार्टीका नेताहरू सार्वजनिक रूपमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहनुभएको छ । केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढङ्गमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध गर्दैन, यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढङ्गले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकताबद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रीय समितिको पनि निर्णय भएको र आम जनता, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढङ्गले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।
उपाध्यक्ष बादलले पदाधिकारी सङ्ख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनुभयो ।