detail-img

महाधिवेशनबाट राष्ट्रकै आवश्यकता पूरा गर्ने सक्षम नेतृत्व छानिने छः सचिव अर्याल

२४ मङ्सिर (२०८२), काठमाडौं ।  नेकपा (एमाले)का सचिव एवं ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले एमालेले महाधिवेशनबाट ‘दलको लागि मात्र होइन, राष्ट्रको आवश्यकता पूरा गर्ने सक्षम नेतृत्व’ छान्ने तयारी गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज गरेको सम्वादमा सचिव अर्यालले पार्टीले विश्व समुदायसँग सिधा बहस गर्न सक्ने, ठोस विचार राख्न सक्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौती बुझ्न सक्ने र क्षमतावानमध्येबाट सर्वश्रेष्ठ व्यक्ति चयन गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– सर्वस्वीकार्य नेतृत्व छान्नु नै राम्रो हो, देश निर्माणका लागि अडान, योजना र स्पष्ट एजेन्डा राख्न सक्ने क्षमता भएको नेतृत्व अत्यावश्यक छ ।
नेतृत्व चयनमा ‘सहमति पहिलो प्राथमिकता’ हुने स्पष्ट पार्दै, सहमति नजुटे मर्यादित र स्वस्थ प्रतिस्पर्धा अपरिहार्य हुने बताउँदै सचिव अर्यालले भन्नुभयो– पार्टीभित्र आन्तरिक लोकतन्त्रको संस्कार संस्थागत गर्ने दल एमाले नै हो । त्यसैले प्रतिस्पर्धा कुनै असामान्य विषय होइन ।
आगामी महाधिवेशनलाई ऐतिहासिक बताउँदै सल्लाघारीमा आयोजना हुने विशाल सभालाई ‘इतिहासमा दस्ताबेज भएर बस्ने सभा’को रूपमा वर्णन गर्नुभयो । साथै विश्व सम्पदा सूचीमा अटाएको चाँगुनारायण मन्दिर परिसरमा विशेष सांस्कृतिक सन्देश दिने कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले पार्टीभित्र वैचारिक एकता उच्च रहेको दाबी गर्दै भन्नुभयो– एमालेभित्र वैचारिक भिन्नता छैन, जबज विरोधी कोही छैन, पदका लागि प्रतिस्पर्धा स्वाभाविक हो तर सिद्धान्तगत कोणमा कुनै मतभेद छैन । 
देश निर्माणमा एमाले अहिले विकल्पहीन शक्तिको रूपमा स्थापित भइसकेको बताउँदै सचिव अर्यालले भन्नुभयो– अब एकता र बलियो संगठन आवश्यक छ, यो महाधिवेशन नेतृत्व छनोटमै केन्द्रित हुनेछ ।