–केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वशर्त राख्नेहरूसँग सहमति नहुने
–समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र रोकिने छैन भन्ने कुरा ख्याल गर्न आग्रह
-लोकतन्त्र मास्ने प्रयास भयो भने एमालेले सहँदैन, नेपाली जनताले सहँदैनन्
–एमाले सकियो भन्नेहरूलाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह हेर्न सल्लाघारी आउन आह्वान
२५ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा आफूहरू रहेको बताउनुभएको छ ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको सम्वाद कार्यक्रममा अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने सहमति हुन नसके स्वच्छ प्रतिष्पर्धा हुने बताउनुभयो ।
उहाँले नेतृत्व चयन गर्दा करकापपूर्ण सहमतिको प्रयास भने नहुने स्पष्ट गर्नुभयो । केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वशर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो– म दबाबमा काम गर्ने मान्छे होइन ।
सम्पादकहरूसँग सिधै प्रश्नोत्तरबाट शुरू गरिएको सम्वादमा महाधिवेशन प्रतिनिधिहरूले विश्वास गर्नुभयो भने पार्टी अध्यक्ष पदमा आफ्नो निरन्तरता हुने उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सम्भवतः मेरोविरुद्धमा कोही नउठ्ला । सर्वसम्मत अध्यक्षमा मेरो नाममा सहमति बन्ला । कोही स्वस्थ प्रतिस्पर्धा गर्न आउँछ भने त्यसको स्वागत हुन्छ ।
उहाँ (ईश्वर पोखरेल)ले बाहिर–बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नुभएको तर आफूसँग भने कुरा नगरेको अध्यक्ष ओलीले बताउनुभयो ।
सम्पादकहरूको जिज्ञासाको जवाफ दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेल लगायत पार्टीभित्रका केही मानिसहरू आफूविरुद्ध वैरभाव राखेर लागेको उहाँले बताउनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका केही मानिसहरू सुशीला कार्कीसँग मिलेर आफ्नोविरुद्ध लागेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो ।
वर्तमान सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उहाँले यसमा अर्ति नदिन पनि आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको हुँदा सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।
समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै उहाँले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिनुभयो । ‘ध्यान राखेर, होश सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु’, अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले भन्नुभयो– लोकतन्त्र मास्ने प्रयास भयो भने एमाले सहँदैन, नेपाली जनताले सहँदैनन् ।
एक अर्को जिज्ञासामा अध्यक्ष ओलीले भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको स्पष्ट पार्नुभयो । आफू देश छाडेर कतै नगएको र नजाने बताउँदै उहाँले भन्नुभयो– उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ ।
अध्यक्ष ओलीले अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएको बताउनुभयो । यो सरकार कसैले टपक्क टिपेर नागपञ्चमीमा नाग टाँसे जसरी टाँसिदिएको फेद न टुप्पोको सरकार हो, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सहमतिलाई कलाविहीन नाटकको संज्ञा दिनुभयो । त्यो कलाविहीन नाटकको पटाक्षेप कलाविहीन तरिकाले भएको उहाँले प्रष्ट पार्नुभयो । ‘त्यहाँ गरिएको सहमति त्यहीँ च्यातेर हिँडे त !’, अध्यक्ष ओलीले भन्नुभयो ।
हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापित हुनुपर्ने उहाँको धारणा छ । अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) र नेपाली कांग्रेस जनाधार भएका ऐतिहासिक पार्टी भएको बताउँदै उहाँले अहिले केही क्षण सूर्यमा ग्रहण लागेकाले एमाले–कांग्रेस बाहिर रहे पनि यो देशको जिम्मेवारी फेरि पनि कांग्रेस र एमालेको काँधमा आउने विश्वास व्यक्त गर्नुभयो ।
विना सिद्धान्त, विना नीति र विना स्पष्ट योजना दलहरू खोल्ने क्रम जारी रहेको बताउँदै उहाँले भन्नुभयो– सम्पत्ति कमाउन, अपराधबाट बच्न र भ्रष्टाचार गर्नका लागि राजनीतिक दलमा लाग्ने होइन, राजनीतिमा लाग्ने भनेको देश बनाउनका लागि हो । देशको सकारात्मक रूपान्तरण गर्नका लागि हो । अहिले खोलिएका, दर्ता भएका नयाँ दलमा त्यो कुरा देखिँदैन ।
अध्यक्ष ओलीले एमाले सकियो भन्नेहरूलाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह हेर्न आउन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो– पर्सि शनिवार अर्थात् मङ्सिर २७ गते भक्तपुर सल्लाघारी छेउको ठुलो मैदानमा एमाले सिद्धियो भन्ने कुराको जवाफ हुने छ ।
एमालेका पार्टी कार्यालय, नेताकार्यकर्ताका घर छानिछानी हानेको तीन महिना नबित्दै एमाले यो अवस्थामा पुगेको देख्दा एमाले सिद्धियो भनेर लागेकालाई आश्चर्य लाग्नुपर्ने अध्यक्ष ओलीको धारणा छ ।
विगतमा पनि यस्ता थुप्रै जटिल अवस्था भोगेर एमाले अघि बढेको उहाँले बताउनुभयो ।
सरकारले अहिले अनेक किसिमका मिडिया ट्रायल गरिरहेको बताउँदै अध्यक्ष ओलीले यस्तो अवस्थामा पनि एमाले अघि बढेको कुरा समाचार बन्दैन भने एमाले समाचारको हेडलाइनका लागि कुनै कुकुरको खुट्टा टोक्न नजाने स्पष्ट पार्नुभयो ।
कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टीका सचिव तथा महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्याल, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको सहभागिता थियो ।
सम्वादमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू प्रतीक प्रधान, शिव गाउँले, बसन्त बस्नेत, शुभशङ्कर कँडेल, डिल्ली आचार्य, सागर पण्डित, दीपक पाण्डे, टंक पन्त, ऋषि धमला लगायतले जिज्ञासा राख्नुभएको थियो ।