२६ मङ्सिर (२०८२), भक्तपुर । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उपस्थितिका लागि पार्टीको भक्तपुर जिल्ला कमिटीले सार्वजनिक अपिल गरेको छ ।
भोलि शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा हुने भव्य उद्घाटन समारोहमा आम समुदायको सहभागिताका लागि भक्तपुर जिल्ला कमिटीले अपिल गरेको हो ।
पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको नेकपा (एमाले)को इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको छ ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवकयुवती तथा जेन–जी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।
देशभरबाट महाधिवेशन प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक र जनसमुदाय भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ ।
विशेष गरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि अपिलमा उल्लेख गरिएको छ । महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेको लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ ।
अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेषभूषा र सम्पदा झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा गरिएको छ ।