detail-img

निर्वाचनको वातावरण बनिसकेको छैनः अध्यक्ष ओली

२३ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने तयारीमा रहे पनि मुलुकमा अझै निर्वाचनको वातावरण बनिनसकेको बताउनुभएको छ । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले आगामी फागनु २१ गते चुनाव हुने भने पनि चुनावी वातावरण नबनेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सरकारले आगामी फागनु २१ गते चुनाव भनेको छ । चुनावी वातावरण बनेको छैन, खोसिएका हतियार अझै जम्मा भैसकेका छैनन्, जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन्, अनि कसरी हुन्छ चुनाव ?
उहाँले देशका विभिन्न भागमा विभिन्न प्रकारका घटनाहरू, आपराधिक घटना भइरहेको र चुनावमा अझ बढी घटना हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । 
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै हटाउने बाटो संविधानमा भए पनि देशमा आगजनी गरिएको स्मरण गर्दै अध्यक्ष ओलीले देश जलेपछि आफूले राजीनामा दिएको बताउनुभयो । 
वर्तमान सरकारको काम चुनाव गराउने भए पनि सुरक्षा निकायको मनोबल उठाउने काममा सरकार नलागेकाले चुनाव हुन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको र भत्काएर मात्रै देश नबन्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार, डेमोक्रेसी, संविधान, सुकुम्बासीको बस्ती, यो सबै भत्काउने ?
देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– उन्मादमा नशामा देश बन्दैन ।
पूर्वप्रधानमन्त्री ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै उनीहरू देशद्रोही र अपराधी भएको बताउनुभयो । 
अध्यक्ष ओलीले जेनजीहरू उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ÷दश वर्ष अघिदेखिको तयारी  भएको बताउनुभयो । 
उहाँले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास हुनै नसक्ने बताउनुभयो । 
‘संसद् भवन, सरकारको मुख्यालय, सर्वोच्च लगायतका अदालत खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, अध्यक्ष ओलीले भन्नुभयो– ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।
संगठनका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, उपमहासचिव लेखराज भट्ट, योगेश भट्टराई लगायत अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।