detail-img

श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै सूर्य ध्वजावाहकलाई सहयोग गर्छुः चौधरी

इटहरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा महाभारतको लडाईँमा श्रीकृष्णले अर्जुनलाई साथ दिएजस्तै आफूले सूर्यध्वजावाहक उम्मेदवारलाई साथ दिने बताउनुभएको छ ।
उहाँले गठबन्धनको चक्रब्यूह तोड्न आफूले नेतृत्व गर्नुपरे तयार रहेको बताउनुभएको छ ।

इटहरीमा एमाले एकढिक्का भएको देखेर कसैको टाउको दुख्छ भने सिटामोल लिएर हिँड्न पनि उहाँले सुझाव दिनुभएको छ ।
चौधरीले एमालेका मेयर पदका उम्मेदवार याम सुब्बा र उपमेयर पदका उम्मेदवार संगीता चौधरीलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्ने भन्दै त्यसका लागि आफ्नो पूर्ण सहयोग र साथ रहेको बताउनुभयो ।

सुनसरीको इटहरी उपमहानगरपलिकामा उम्मेदवारहरु घर दैलो कार्यक्रम व्यस्त छन् । चुनाव नजिकिँदै गर्दा भोट माग्नका लागि उम्मेदवारहरु अहिले हतारमा देखिन्छन् । इटहरीमा १०२ पदका लागि ४०८ जनाले उम्मेदवारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकामा एकलाख चारहजार ६२६ मतदाता रहेका छन् । नेकपा एमालेले जित्दै आएको इटहरीमा नेकपा एमालेबाट यामकुमार सुब्बा नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ ।