detail-img

गठबन्धन देशैभरि पत्तासाफ हुन्छ : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब नेकपा एमाले र पाँच दलीय गठबन्धन गरी दुईवटा दलमात्र अस्तित्वमा रहेको बताउनुभएको छ ।
मंगलबार नेकपा एमालेले झापामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो–अहिले नै नेपालमा दुईवटा मात्र दल अस्तित्वमा छन् ।
उहाँले एउटा दल नेकपा एमाले र अर्को गठबन्धन दल गरी द्ुईवटा मात्र दल रहेको बताउनुभयो ।
नेपाली काँगेसको घोषणा पत्रमा आफ्नो सभापतिको नाम आठ ठाउँमा उल्लेख गरेको तर नेकपा एमालेका अध्यक्ष र पार्टीको नाम ४२ स्थानमा लेखेकाले नेपाली काँग्रेस सबैभन्दा धेरै आत्तिएको वताउँदै अध्यक्ष ओलीले गठबन्धन देशैभरि पत्तासाफ हुने भनाइ राख्नुभयो ।
उहाँले नेकपा माओवादी पार्टी नभई केन्द्र मात्र भएको छ । यो निर्वाचनमा माओवादीले आफ्नो घोषणा पत्र समेत निकाल्न नसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले गठबन्धनमा रहुन्जेल काँग्रेसको घोषणापत्रले काम गर्ने र चिप्लिएर एमालेमा आए एमालेको घोषण पत्र भएकाले उनीहरुलाई अब आफ्नो घोषणा पत्र बिना नै चल्ने अवस्थामा रहेको वताउनुभयो ।
उहाँले गठबन्धनलाई शरीरमा आएको लुतोको संज्ञा दिँदै उनीहरुलार्ई प्रजातन्त्र आउँदा पनि चिलाउँछ, एमालेले विकास निर्माण गर्दा पनि चिलाउछ, एमालेले जुनसकै राम्रा काम गर्दा पनि लुतो जसरी चिलाउने गरेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो–गठबन्धन टुटोस् भन्ने हामी चाहँदैनौँ’ ‘गठबन्धन भइरहोस् एमालेले देश बनाउने छ ।’ उहाँले गठबन्धनका प्रमुख नेता बाहेकका सबै नेता तथा कार्यकर्ताहरुलाई एमालेमा आएर राष्ट्रका लागि योगदान गर्न आह्वान गर्नुभयो ।
‘तीन तहकै सरकार एमालेको नेतृत्वमा बन्छ ।’ अब बहुमत मात्र होइन, बलियो सरकार बनाउन दुईतिहाई भन्दा बढी मत ल्याउने वताउनुभयो ।’
उहाँले मेचीनगरको एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै नमुना नगरपालिका बनाउन एमालेलाई जिताउन आह्वान गर्नुभयो ।
त्यस्तै मेची नगरमा मेयरका उम्मेदवार गोपाल चन्द्र बुढाथोकी र उपमेयरका उम्मेदवार मीना पोखरेल उप्रेतीलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्बाङ, पोलिटव्युरो सदस्य अग्नी खरेल लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू सुमन भट्टराई, प्रेम राई, कृष्ण मादेन सुब्बा, ईन्द्रकुमार लिम्बु, सन्तोष कार्की र राजन कार्की एमालेमा प्रवेश गराउनु भएको थियो । त्यस्तै माओवादी केन्द्रबाट धर्मराज राजबंशी, कुशल राजबंशी र सुवास राजबंशी लगायत एकदर्जन विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।
आज चन्द्रगढी उत्रिए लगत्तै अध्यक्ष ओलीले भद्रपुरमा आयोजित सभालाई सम्बोधन गर्नुभएको थियो । दिउँसो हल्दिबारी गाउँपालिकाको गोलधाप, मेचीनगर नगरपालिकाको धुलाबारी अहिले साँझ बिर्तामोड नगरपालिकाको चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।